काठमाडौं, २३ असार । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका महामन्त्री गगनकुमार थापा अहिले प्रधानमन्त्री बन्न बेला नभएको टिप्पणी गरेका छन् । उनले भने,‘कारण अब छोडिदिउँ, नेपाली कांग्रेसभित्र धेरै नेताहरु, जो लामो समयदेखि कार्यकर्ताहरुको माया लिनुभएको छ, मन जित्नुभएको छ, त्यहीअनुसारको काम गर्नुभएको छ, जेलनेल भोग्नुभएको छ, त्यसैले के छ भने अहिलेपनि नेपाली कांग्रेसमा नेता भनेपछि जो खारिएर, जो टेष्ट भएर प्रजातान्त्रिक आन्दोलनमा संघर्षमा अगाडि आएको छ, मलाई लाग्छ उहाँहरुलाई नै नेता मानिएको छ ।’ उनले निर्वाचनमा कांग्रेसको बहुमत आउपछि देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरे । उनले पार्टीमा जे भएपनि सहमतिअनुसार नै हुने दाबी गरे ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुसार नै सबै काम गरेको दाबी गरेका छन् । उनले यसअघि केपी ओलीको पालामा कोभिड कालमा ठूलो भ्रष्टाचार भएको आरोप लगाए । तर, अहिले देउवा प्रधानमन्त्री भएपछि कुनै भ्रष्टाचार नभएको उनको दाबी छ । उनले भने,‘अहिलेको सरकारबारेमा कुनै काण्ड सुन्नुभएको छ ? अहिलेको सरकारले भ्रष्टाचारलाई शून्य सहनशिलतामा झारेको छ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलहरुलाई पाखा लगाउने हो भने त कांग्रेस नेविसंघ हुने टिप्पणी गरे । उनले आफूलगायत पार्टीका पदाधिकारी प्रायः सबै युवा नै रहेको सुनाए । देउवाले पार्टीको नेतृत्व लिन सक्ने वा नसक्ने भन्ने कुरा महाधिवेशनले नै सावित गरिदिएको भन्दै देउवाको विकल्प खोज्नेहरुलाई यादवले कडा जवाफ दिए । उनले आगामी निर्वाचनमा कांग्रेसको एकल बहुमत आउने दाबी गरे । उनले सबै दलले छुट्टाछुट्टै निर्वाचन लडे कांग्रेसको बहुमत आउने निश्चित रहेको सुनाए । तर, अहिले सरकारबाट कांग्रेसलाई हटाउने षड्यन्त्र भैरहेको सुनाए ।