एजेन्सी, २४ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।
गोली लागेपछि उनी अचानक ढलेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई पछाडिबाट दुई पटक गोली लागेको थियो । उनको अवस्था चिन्ताजनक छ र उनले कुनै प्रतिक्रिया दिएका छैनन्।
प्रहरीले घटनास्थलबाट ४२ वर्षीय आक्रमणकारीलाई पक्राउ गरेको छ । उनको साथबाट बन्दुक बरामद भएको छ । प्रहरीले आरोपीलाई सोधपुछ गरिरहेको छ ।
जापानी सञ्चारमाध्यमका अनुसार गोली लागेपछि सिन्जोलाई पनि हृदयघात भएको थियो । तर, यसबारे आधिकारिक धारणा भने आएको छैन । प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा बन्दुकको आवाज सुनिएको थियो र आबेको शरीरबाट रगत बगिरहेको देखिएको थियो।