काठमाडौं, असार २५ । एकपछि अर्को विवादको चपेटामा परेर अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको अर्को विवादित ‘हर्कत’ बाहिरिएको छ ।
यसअघि, शर्मा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक हुनु अघिल्लो रात १४ जेठमा सीसीटिभी फुटेज मेटिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएर विवादमा परेका थिए ।
त्यसपछि चौतर्फी दबाब थेग्न नसकेर अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मामाथि गत १४ जेठ मध्यराति बजेट निर्माण गर्दा ‘अनधिकृत व्यक्ति’लाई स्थान दिएको आरोप लाग्यो । उनीमाथि ‘सीसीटिभी फुटज कान्ड’मा व्यापारिक घरानाका आफूनिकट व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दरसमेत हेरफेर गरेको आरोप लागेको थियोे ।
अहिले पदबाट हटिसकेका शर्माले प्रधानमन्त्री शेरबहादुर देउवापुत्र जयवीरसिंह देउवाको कम्पनीलाई करमा भारी छुट दिएको विवाद बाहिरिएको छ ।
प्रधानमन्त्री देउवापुत्र जयवीर महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याड विदेशबाट आयात गर्छन् । देउवापुत्रको ‘ब्लु प्रिन्ट टे«डिङ प्रालि’ नामक कम्पनीले सेनिटरी प्याड कारोबार गर्दै आएको छ । यो कम्पनीमा भरतपुर चितवनका हेमन्त बजगाईंको पनि साझेदारी रहेको छ ।
सो कम्पनीमा प्रधानमन्त्रीपत्नी आरजु राणासमेत अप्रत्यक्ष रूपमा संग्लग्न रहेको स्रोतको दाबी छ । स्वदेशी उत्पादनलाई प्रश्रय दिनेगरी बजेट बनाएको दाबी गर्दै आएका निवर्तमान अर्थमन्त्री शर्माले विदेशबाट आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुट गरिदिएका थिए ।
चरम विवाद थेग्न नसकेर अर्थमन्त्रीबाट हटेका शर्माले प्रधानमन्त्रीपुत्र जयवीर सिंहको कम्पनीलाई गरिदिएको यस्तो कार्यले नेपाली बजारमा विदेशी प्याड सस्तो हुने र स्वदेशी उद्योग धराशयीमा पार्ने सम्बन्धित क्षेत्रका विज्ञको दाबी छ । उनीहरूले तत्कालीन अर्थमन्त्री शर्माले प्रधानमन्त्रीलाई रिझाउन गरेको कार्यले स्वदेशी उद्योग नराम्रोसित धराशयी हुने औंल्याएका छन् । राजधानी दैनिकबाट