Logo

वीरगन्जमा पार्टीको बैठक हो, काठमाडौंमा गुटको बैठकः प्रदीप यादव



काठमाडौं, २९ असार । जनता समाजवादी पार्टीका नेता एवं वनमन्त्री प्रदीप यादवले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई बहुमत सिद्ध गरेर देखाउन चुनौती दिएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले भने, “जसपामा ५ सय जना केन्द्रीय सदस्य छन् । बाबुरामजीको भेलामा ४० जना केन्द्रीय सदस्य रहेको रिपोर्ट आएको छ । आज वीरगन्जमा दुई तिहाइ केन्द्रीय सदस्य आउनुभएको छ । उहाँको २३० पुगेको भए निर्वाचन आयोग किन नजानुभएको त ?”
भट्टराईको भेला अवैध भएको र पार्टी नफुटेको पनि उनले औंल्याए । यादवले भने, “वीरगन्जको बैठक पार्टीको बैठक हो, काठमाडौंको बैठक गुटको भेला हो । त्यो भेला अवैध हो । हामी विधान चिन्छौं, व्यक्ति चिन्दैन । पार्टीमा उपेन्द्रजीबाहेक बैठक बोलाउने अधिकार कसैलाई छैन । त्यो गुटको भेला मात्र हो । बैठक राख्ने अधिकार बाबुरामजीलाई छैन । पार्टीको विधान उहाँले नै बनाउनुभएको हो नि ।”
उनले जसपा नफुटेको पनि दाबी गरे । यादवले थपे, “कोही व्यक्ति पार्टीबाहिर जान सक्छ । बैठक गर्नेबित्तिकै पार्टी फट्दैन । पार्टी फुट्ने निश्चित प्रक्रिया हुन्छ । डा साबको बारेमा मेरो कमेन्ट छैन ।”
उपेन्द्रजीले पार्टी कब्जा नगरेको पनि उनको दाबी छ । उनले भने, “स्थानीय तहको निर्वाचन अगाडि पार्टीभित्रका जुनसुकै समस्याको समाधान गर्न उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई पूर्ण जिम्मेवारी दिइएको थियो । अहिले राखेका कुरा तीन जनाको बैठकमै राख्नुपथ्र्यो । तीन जना सँगै बसेको भए निकास आउँथ्यो । तर गुटको भेला शोभनीय कुरा होइन । यसले मुलुकलाई निकास दिँदैन ।”



प्रतिक्रिया दिनुहोस्