काठमाडौं, ३० असार । जब कुनै जिल्लामा नेता धेरै जन्मन्छन् तब समस्याहरु पनि जन्मन्छन् । अहिले तनहुँमा त्यस्तै भएको छ ।
तनहुँमा नेपाली काँग्रेसका हस्ती नेताहरुको बाहुल्य छ । प्रभावशाली नेता रामचन्द्र पौडेल तनहुँकै हुन् । उनी तनहुँ क्षेत्र नं २ बाट उम्मेदवार बन्दै आएका छन् । बहुदल आएपछि उनले तनहुँलाई नै चुनावी क्षेत्र बनाउँदै आए ।
काँग्रेसका केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, गोविन्द भट्टराई, शंकर भण्डारी पनि तनहुँकै हुन् । पौडेल महामन्त्रीका उम्मेदवार भइसकेका छन् । पौडेल र भट्टराई दुवै नेविसंघका पूर्व सभापति हुन् ।
नेविसंघका पूर्वमहामन्त्री दिपक भट्टराई, तरुण दलका पूर्वमहामन्त्री पुष्प पराजुली पनि तनहुँकै हुन् ।
पूर्वगृहमन्त्री गोविन्दराज जोशी पनि तनहुँकै हुन् । उनी लामो समय काँग्रेसबाट राजनीति गरेपनि पछिल्लो समय कारबाहीमा परेका छन् ।
नेकपा एसका किसान श्रेष्ठ पनि तनहुँकै हुन् । निवर्तमान मन्त्री श्रेष्ठ एमालेबाट चुनाव जितेर पछि एमा लागेका हुन् । माओवादी नेता सुरेश आले मगर पनि तनहुँकै हुन् ।
अन्य दलको तुलनामा काँग्रेसबाट क्षेत्र र प्रदेशमा उम्मेदवारका आकांक्षी धेरै छन् । तीन पुस्ताबीच टिकटका लागि प्रतिष्पर्धा हुने देखिएको छ ।