काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् ।
प्रचण्ड आज दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान हुने कार्यक्रम छ । दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
माओवादी नेता देव गुरुङका अनुसार भाजपा नेतृत्वसँग सद्भावना आदान–प्रदानका सन्दर्भमा प्रचण्ड भारत जान लागेका हुन् ।
प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ। भाजपा अध्यक्ष जेपी नड्डासंग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।
त्यस्तै, प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, भारतीय विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ।