चितवन, २ साउन : चितवनका पत्रकार कृष्ण आचार्यलाई कुटपिट गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले विद्युत प्राधिकरण भरतपुरका प्रमुख राजीव सिंहसहित आठ कर्मचारीविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो ।
शुक्रबार विद्युत प्राधिकरणको कार्यालयभित्रै कर्मचारीहरू मासु र मदिरा सेवन गरेर बसेका बेला रिपोर्टिङ गर्न पुगेका पत्रकार आचार्यमाथि कर्मचारीले कुटपिट र अभद्र व्यवहार गरेका थिए । अभद्र व्यवहार गरेको आरोपमा भरतपुर केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् ।
पौडेल शुक्रबार राति नै पक्राउ परेका थिए । अन्यलाई भोलिपल्ट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट आज म्याद थपको अनुमति लिने बेला विद्युतका प्रमुख सिंहलाई पक्राउ गर्न अनुमति लिइने उनले बताए । सिंहलाई अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन । मुद्दा दर्ता भएपछि सिंह फरार भएका छन् ।
नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक आचार्यमाथि विद्युत प्राधिकरण कर्मचारीले कार्यालयको गेट बन्द गरेर कुटपिट गरेका थिए । कार्यालयको पर्खालबाट हामफालेर आचार्यले ज्यान जोगाएका हुन् । घटनापछि नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न पेसागत संगठनहरुले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । पत्रकार आचार्य प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ चितवनका सदस्य पनि हुन् ।