Logo

चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज नगरे कडा आन्दोलनमा जाने नेपाल स्वतन्त्र नागरिक सञ्जालको चेतावनी (भिडियोसहित)



काठमाडौं, २ साउन । नेपाल स्वतन्त्र नागरिक सञ्जालले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सञ्जालले आउँदो शुक्रबार दिनको २ बजे माइतीघरमा प्रदेश र समानुपातिक प्रणाली खारेजीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने जानकारी समेत दिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी सञ्जालले आन्दोलनको चेतावनी दिएको हो । नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले अबको चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज हुनुपर्ने माग गरे । उनले आगामी साउन ६ गते शुक्रबार दिनको २ बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने समेत बताए ।

नेपालमा संघीय शासन प्रणाली अर्थात प्रदेशहरू खारेज गरि संविधानमा दुई तहको सरकारमात्र हुने व्यवस्था गर्न माग अघि सार्दै प्रधानमन्त्री शेरबहादुर देउवासहित शिर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउने जानकारी समेत गराए । संयोजक सुवेदीले देशलाई अस्थिर बनाउन कसैको बहुमत नआउने समानुपातिक तथा प्रत्यक्ष सहितको मिश्रित निर्वाचन प्रणाली खारेज गर्दै बहुमतिय पहिलो हुने प्रत्यक्ष निर्वाचन प्रणाली कायम गर्नुको विकल्प नभएको बताए । संवैधानिक निकाय, कुटनितिक नियोग र सार्वजनिक निकायहरुमा हुने गरिएको राजनीतिक नियुक्ति बन्द गरी निष्पक्ष सक्षम व्यक्ति जाने प्रणाली संविधानमै व्यवस्था गर्नुपर्ने सरकारसमक्ष सन्जालले स्पष्ट रुपमा माग राखेको छ । सञ्जालको सांसद विकास कोष मार्फत सांसदहरुले करोडौं प्रत्यक्ष खर्च गर्न नपाउने व्यवस्था संविधानमै गर्नुपर्ने माग छ ।

सुवेदीले देशमा अब परिवर्तनको लहर ल्याउन सन्जालको गठन गरेको बताए । उनले मुलुक अत्यन्तै गम्भिर मोडमा पुगेको भन्दै देशलाई अस्थिरताबाट जोगाउन स्वतन्त्र नागरिकहरुले उठ्नुपर्ने बेला आएको टिप्पणी गरे । १० वर्ष लगाएर जनताको हातबाट संविधान लेखाइएको भएपनि समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली लागु गरेर त्यसलाई दुरुपयोग गरेको आरोप लगाए ।

समानुपातिक प्रणालीको प्रयोगबाट करोडौ–करोडौ रुपैयाँमा सांसद किनबेच भएको उनले जिकिर गरे । उनले भने,‘समानुपातिक निर्वाचन प्रणाली र मिश्रित निर्वाचन प्रणाली लागु गर्दा नेताहरुले प्रशस्त आम्दानी गरे ।’

समानुपातिक निर्वाचन प्रणाली राख्न नहुने जनताको अभिमत भएपनि खारेज गर्न नसकेकोमा उनले आपत्ति जनाए । समानुपातिक निर्वाचन प्रणालीले मुलुकको हित नहुने उनको तर्क छ । प्रदेश र संघीय व्यवस्था यो देशलाई आवश्यक नभएको पनि उनले स्पष्ट पारे ।
उनले भने,‘समानुपातिक निर्वाचन प्रणाली देशलाई आवश्यक छैन् भन्ने जनआवाजलाई ६०१ सांसदले नसनेर फास्ट ट्रयाकबाट हतार हतार संविधान जारी गरियो । फास्ट ट्रयाकबाट जारी गरेको संविधान नेपाली जनताले रुचाएका छैनन् ।’

बाह्रय शक्तिको दबाबमा ठुला राजनीतिक दलहरुले संविधान जारी गरेपनि आफुहरुले उठाएको कुरा भने दबाइएको उनले आरोप लगाए । २०७२ सालको संविधान जारी गरेपछि देशको हाल दिन प्रतिदिन बिग्रदै गएको उनको भनाई थियो । अहिले देश आर्थिक संकटमा गुज्रिएको उनले बताए ।

उनले सन्जालले राखेका ४ वटा माग संविधान संशोधन गरेर चुनाव अघि नै सरकारले माग सम्बोधन गर्न पर्ने धारणा राखे । सन्जालले उठाएको मुद्दा सम्बोधन गर्नका लागि आउँदो शुक्रबार २ बजे कोटेश्वरबाट बृहत र्याली गर्दै माइतीघर मण्डलामा शान्तिपुर्ण कार्यक्रम गर्ने संयोजक सुवेदीले जानकारी दिए ।

सन्जालका सदस्य समेत रहेका ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी घोषणा गरेका डा.दीपेश केसीले देशमा विद्रोहको लहर चलिसकेको बताए । उनले देशको चित्तमाथि नै प्रहार भएकाले अस्तित्व जोगाउनका लागि गाउँ टोलबाट विद्रोहको लहर चलेको र यसबाट दलीय राजनीतिका नाममा धनवाद र डनवाद हावी गराएकाहरु आत्तिएको बताए । दलहरुले जनताको जनचाहाना विपरित हिडेकोले ठूलो धक्का खाने ठोकुवा गरे ।

उनले भने,‘दलहरुले देशको चित्त, भाषा, धर्म, संस्कृति गर्दै एकपछि अर्को गर्दैै सबैमा आक्रमण गर्दा देशको संस्कृति नै लोप हुने अवस्थामा पुग्न लागेको छ । यही अवस्था कामय भएमा देशको अस्तित्व नै रहन्छ की रहदैन भन्ने प्रश्न उठछ ।’ डा.केसीले देश भनेको ढुंगो माटो मात्र नभएर संस्कार, धर्म, प्रणाली, पद्धती, भविष्य, इतिहास पनि भएको बताए । अहिले देशमाथिको इतिहासमा प्रहार भइरहेको उनले टिप्पणी गरे ।

‘हेर्दाहेर्दैै पृथ्वीनारायण शाहमाथि आक्रमण भयो, उनले दिएको दिव्योपदेशनै होइन भन्न पनि थालियो । अब देश निर्माणकर्ता माथि नै आक्रमण हुन थालेपछि अब देश कहाँ जाला,’ उनले भने,‘कुनै पनि देशको अन्त्य गर्न त्यस देशको इतिहास, धर्म र भाषामाथि आक्रमण हुन्छ ।’ दलीय सिन्डिकेट बनाएर केही व्यक्तिहरुले देशको अस्तित्व मेट्न खोजेको उनको आरोप थियो ।

अब देशको अस्तित्व जोगाउँन गाउँ–गाउँ, बस्ती–बस्ती, टोल–टोलबाट स्वतन्त्र आवाजहरु उठ्न पर्ने जोड दिए । केसीले समानुपातिक प्रणाली खारेजीको समेत माग गरे । संघियताको नाममा जातजातबीच लडाउन खोजिएको भन्दै यसबारे जनता बेलैमा सचेत हुनुपर्ने उनको भनाई थियो । राजनीतिक दलहरुले जातको नाममा सनातन धर्मका नागरिकलाई लडाएर इतिहास मेटाउन लागेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै सन्जालका सदस्य सुमन केसीले देशमा राजनीतिक दल, दल जस्ता नभएको र नेता–नेता जस्तो नभएको बाताए । उनले नेता र दलहरुले जनताको सर्वोपरी हित नसोचेको समेत आरोप लगाए । गलत बाटोमा हिड्नेलाई सही मार्गमा हिडाउने र उनीहरुलाई सहि पैरवीगर्ने हेतुले सन्जाल गठन गरेको बताए । सन्जालमा हाल ६१ केन्द्रीय सदस्य रहेको र आगामी दिनमा १५१ सदस्यीय पुराउने लक्ष्य लिएको पनि उनले जानकारीदिए । उनले देशको परिवर्तनको लागि सबैलाई सन्जालमा आबद्ध हुन पनि आग्रह गरे ।

 



प्रतिक्रिया दिनुहोस्