काठमाडौं, साउन ४ । सामाजिक सञ्जालमा अहिले एउटा दर्दनाक भिडियो निकै चर्चामा छ । भिडियोमा विद्यार्थीलाई लस्करै घोप्टो पारेर हातखुट्टा टेक्न लगाइएको छ र एक व्यक्तिले फलामको पाताजस्तो देखिने वस्तुले पिठ्युँमा पालैपालो तीन पटक पिटेको देखिन्छ ।
झट्ट हेर्दा सुरक्षा निकायमा भर्ना भएका व्यक्तिलाई उच्च दर्जाका अधिकारीले भौतिक तालिम गराएको अनुभव दिलाउने उक्त भिडियो ललितपुरको युनाइटेड एकेडेमीको रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । पिटाइ खाएपछि विद्यार्थी ऐया ऐया भन्दै जुरुक्क उठेर यताउति भागेको भिडियोमा देखिन्छ । तर एकेडेमीले भने धेरै पुरानो भिडियोलाई अहिले नियतवश कोही व्यक्तिले सार्वजनिक गरेको आरोप लगाएको छ ।
एक साताअघि ललितपुरकै चापागाउँस्थित लिटिल स्टार इङ्ग्लिस एकेडेमीका प्राचार्य चक्र महर्जनले कक्षा पाँच पढ्ने ११ वर्षीय दिपेश खड्कालाई निर्घात कुटपिट गरे । महर्जनको कुटाइबाट खड्काको जिउ घाउ र निलडामले भरियो । उक्त घटनापछि पीडकलाई कारबाही माग गर्दै खड्का परिवारले महानगरीय प्रहरी वृत्त चापागाउँमा निवेदन दिएको थियो ।
तर उक्त निवेदनपछि स्कुल प्रशासनले खड्कालाई कक्षा १२ सम्म निःशुल्क पढाइदिने तथा परिवारलाई आर्थिक सहायता गर्ने प्रलोभन दिएपछि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । शैक्षिक संस्थाले पढाउला र दुईरचार शब्द सिकाउला भनेर आफ्ना छोराछोरी जिम्मा लगाएका अभिभावक पछिल्लो समय ‘डीआई’ (अनुशासन इन्चार्ज)को क्रुर सजायका कारण तनावमा छन् । यस्ता घटनाले विद्यार्थीलाई समेत मानसिक बोझ थपिदिएको छ ।
पछिल्लो समय विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा सबैजसो निजी शैक्षिक संस्थाले डीआई राख्ने गरेका छन् । जसको मुख्य काम विद्यार्थीले कुनै गल्ती ग-यो भने सचेत गराउनेदेखि साथीको अगाडि उभ्याएर चरम यातना दिनेसम्मको हुन्छ ।
शिक्षण संस्थामा पढ्न आएका विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरूलाई सोहीअनुसारको परामर्श दिने विज्ञ (काउन्सिलिङ इन्चार्ज) राख्नुपर्नेमा न्यूनतम योग्यतासमेत पूरा नगरेका व्यक्तिलाई डीआईका नाममा बाहुबल भएका चुल्ठेमुन्द्रे व्यक्तिलाई राख्ने प्रवृत्ति मौलाउँदै गइरहेको छ । गोरखापत्र दैनिकबाट