काठमाडौं, ४ साउन । नीजि तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)ले आगामी भदौ १२ गते प्याब्सन अन्तर–विद्यालय तीज बिशेष नृत्य प्रतियोगिता नवौं संस्करण २०७९ गर्ने भएको छ ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्याब्सनले यस्तो जानकारी दिएको हो । उक्त प्रतियोगिता राष्ट्रिय नाँचघर जमलमा हुने जनाईएको छ । विद्यार्थीहरुको नृत्य प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।
विगत दुई वर्ष कोरोना महामारीको कारण सञ्चालन नगरिएको उक्त प्रतियोगिताको नवौं संस्करणले प्रतिभाशाली विद्यार्थीहरुलाई ठुलो अवसर प्रदान गर्ने काठमाडौं जिल्ला प्याब्सनले जनाएको छ ।
प्याब्सनले अन्तर–विद्यालय तीजविशेष नृत्य प्रतियोगितामा ५० वटा विद्यालयहरुलाई मात्र सहभागिता गराउने भएको छ । ५० विद्यालयहरुमध्ये प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने विद्यालय एवं विद्यार्थीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद, प्रमाणपत्र र मेडलसहित पुरस्कृत गर्ने भएको छ ।
त्यसैगरी, १०औं उत्कृष्ट स्थानसम्म आउने विद्यालयहरुलाई ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गर्नेपनि जनाइएको छ । र,निर्णायक मण्डलमा नेपालकै ख्याँतिप्राप्त नृत्य प्रशिक्षकहरु राखिने र उनीहरुकै निर्णय अन्तिम हुनेपनि जनाइएको छ ।
साउन ३१ गते अपरान्ह ४ बजेभित्र प्याब्सन काठमाडौंको कार्यालयमा विद्यालयको लेटर प्याडमा गीतको बोल प्रशिक्षकको नाम, मोबाइल नम्बर र विद्यार्थीहरूको नाम प्रिन्सिपलले प्रमाणित गरी सहभागिताका लागि आफ्नो विद्यालयको नाम दर्ता गरिसक्नुपर्ने प्याब्सनले जनाएको छ । तर, सहभागिता बढ्नसक्ने कुरालाई मध्यनजर गर्दै शुरूमा आउने नृत्य टिमलाई प्रथम प्राथमिकता दिइनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै नृत्य प्रतियोगिताकी संयोजक तथा काठमाडौं प्याब्सनकी उपाध्यक्ष रिता राई (दाहाल)ले प्याब्सनले निजी विद्यालयको मात्र नभई युवाहरु विदेशिनबाट समेत महत्वपुण भूमिका खेलेको बताईन् । नवौं संस्करणसम्म आइपुग्दा धेरै नृत्य प्रतिभाहरू जन्माउन प्याब्सन काठमाडौं सफल भएको राईको भनाई छ । उनले प्रतियोगिताले नृत्यमा प्रतिभा विद्यार्थीलाई ठूलो अवसर प्रदान गर्ने विश्वास दिलाईन् ।
काठमाडौं प्याब्सनले नेपाली कला तथा संस्कृतिको जगेर्ना गर्दै विभिन्न चाडपर्वमा प्रतियोगिताहरुको आयोजना गर्दै आएको पनि उनले उल्लेख गरिन् । उनले भनिन्–‘नवौं संस्करणसम्म ४–५ हजार विद्यार्थीहरु प्याब्सनले प्रतियोगितामा सहभागिता गराएको छ । विद्यालय, अभिभावक, प्राध्यापकहरु सबैले आग्रह गरेपछि प्रतियोगितालाई निरन्तरता दिँदै आएका छौं ।’
प्रतियोगिताबाट विद्यार्थीहरुले सिक्ने मौका पाउनेमा आफु विश्वस्त रहेको उनले सुनाइन् । उनले भनिन्,‘सबै प्रतियोगिता जित्नका लागि मात्र हुँदैनन्, सबैले जित्नुपर्छ भन्ने पनि छैन् । सहभागिता जनाउनुमात्रै पनि ठुलो कुरा हो ।’ उनले कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुन पाउने र सहभागी हुन चाहने विद्यालयले लत्ता शुल्क ६ हजार दर्ता शुल्क लाग्ने जानकारी दिइन् । उनले प्रतियोगितामा ५० विद्यालयलाई मात्र सहभागी गराउने पनि स्पष्ट पारिन् ।
त्यस्तै, काठमाडौं जिल्ला प्याब्सन उपाध्यक्ष सुर्य बहादुर भण्डारीले मौलिक संस्कृतिलाई विद्यालयस्तरबाटै संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महिलाहरुको महान पर्व तीजको विशेष अवसर पारेर प्रतियोगिताको आयोजना गर्न लागिएको सुनाए । तीज नृत्य प्रतियोगिताको छुट्टै महत्व रहेको पनि उनको भनाई थियो ।
प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष प्रेमकुमार राइले विद्यार्थीहरुको प्रतिभा उजागर, संरक्षण र प्रस्फुटन गर्नको लागि प्याब्सनले विभिन्न किसिमका प्रतियोगिताहरु गर्दै आएको बताए । प्याब्सनले कला तथा संस्कृतिको जगेर्नाको लागि स्थापनाकालदेखि गुणस्तरीय शिक्षासँगै अन्य विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको राईले बताए ।
काठमाडौंको ११औं वडामा प्याब्सन गठन गरेको उल्लेख गर्दै उनले नीजि विद्यालयलाई मात्र नभएर सामुदायिक विद्यालयहरुलाई समेटेर पनि विभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । उनले प्याब्सनले लिटल आइडल प्रतियोगिताको छैटौं संस्करणको आगामी साउन २८ गते नाँचघरमा नै हुनेसमेत जानकारी दिए । कक्षाभित्रको पढाइले मात्र विद्यार्थीको क्षमतालाई आंकलन गर्न नसकिने उनको भनाई थियो ।
उनले विद्यार्थीको भाग्य र भविष्यको लागि उनीहरुको प्रतिभालाई अघि बढाउनका लागि प्रतियोगिताको आयोजना गर्न लागेको जिकिर गरे । काठमाडौं जिल्ला सह–सचिव ओमप्रसाद ढकालले कार्यक्रम सञ्चालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष नवराज भट्टले कार्यक्रमको समापन गरेका थिए ।