काठमाडौं, ५ साउन । वामपन्थी एकता र वामपन्थी सरकार बनाउने घोषणासहित सक्रिय छन् वामदेव गौतम । उनले कहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेकपा विभाजनमा आफ्नो गल्ती रहेको स्वीकारेका छन् त कहिले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर समाजवादी केन्द्रको विषय उठाउने गरेका छन् ।
गौतमले वामपन्थी एकताका लागि भन्दै ओली, प्रचण्ड र माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटे । त्यसपछि नेकपाका पूर्व सचिवालय सदस्यहरुमध्ये एमालेमा नरहेकाहरुसँग सामूहिक भेटे । गौतम एमाले नेता विष्णु पौडेलसँग नियमिति सम्पर्कमा छन् । यसरी उनी भरसक ओली र प्रचण्ड मिलाउन लागिपरेका छन् । त्यो सम्भव नभए समाजवादी केन्द्र बनाउने उद्देश्यमा छन् ।
समाजवादी केन्द्रमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित वामदेव हुने सम्भावना देखिएको छ । तर, वामदेव कुनै हालतमा चुनावपछि काँग्रेसलाई सरकारको नेतृत्वमा पुग्न नदिने रणनीतिका साथ लागेका छन् । उनले सार्वजनिक रुपमा यसबारे बोलिसकेका छन् ।
काँग्रेसलाई सत्तामा पुग्न नदिने भनेका उनै गौतमले विगतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा मतदान गर्न आव्हान गरेको इतिहास साक्षी छ । अब भने उनी काँग्रेसका कुनै पनि नेतालाई प्रधानमन्त्री बन्न नदिने अभियानमा छन् । त्यसका लागि चुनावसम्म गठबन्धन तोड्ने र चुनावमा काँग्रेसलाई एक्लो बनाएर वामपन्थी गठबन्धन भएमा मात्र सम्भव हुनसक्ला । काँग्रेसले अरु गैरकम्युनिस्ट शक्तिसँग एकता गरेर बढेमा परिणाम फरक हुनसक्छ ।
गौतम अहिले जसरी लागेका छन् त्यसमा वामपन्थी एकता र चुनावमा काँग्रेसलाई धक्का दिने रहेको छ । केपी ओलीले पछिल्लो समय वामपन्थी सरकार निर्माण गर्ने गरी तालमेल वा एकताको आव्हान गरिसकेका छन् । यो आव्हान गौतमसँगको भेटपछि हो ।
वामदेवले वामपन्थी एकताको प्रयास गरेपनि प्रचण्ड समाजवादी केन्द्र बनाउने र काँग्रेससँग बढीभन्दा बढी सिटको दाबी गरेर चुनावी तालमेल गरेर जाने रणनीतिमा छन् । प्रतिनिधिसभामा सयभन्दा बढी सांसद जिताएर समाजवादी केन्द्रलाई निर्णायक शक्ति बनाउने गरी प्रचण्ड बढेका छन् । उनी ओलीसँग मिल्ने अवस्थामा छैनन् । ओली र प्रचण्ड मिलाउने गौतमको प्रयास यसकारण पनि सफल नहुने देखिदैछ ।