Logo

प्रेस युनियनको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने



काठमाडौँ,५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको भोलि साउन ६ गते हेटौँडामा उद्घाटन गर्ने भएका छन् ।

सो महाधिवेशन सञ्चालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानकारी दिए ।

युनियनको साउन ६ र ७ गते हेटौँडामा सञ्चालन हुने महाधिवेशनमा नेपाल प्रेस युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता रहने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गिरिजाप्रसाद अधिकारीले बताएका छन् ।

उनका अनुसार सोही महाधिवेशनबाट नेपाल प्रेस युनियनको आगामी नयाँ नेतृत्व पनि निर्वाचित हुने कार्यसूची रहेको छ । उक्त महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई बागमती प्रदेशको राजधानी हेटौँडाका अतिरिक्त चितवनको सौराहा र बाराको अम्लेखगञ्जस्थितका होटलमा राख्ने प्रबन्ध र आवतजावतको लागि यातायातको सुविधा उपलब्ध गराइएको महाधिवेशन आयोजक आवास समितिका संयोजक रुपेश दुलालले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भोलि हुने भ्रमणको कार्यक्रमलाई सफल तुल्याउन सुरक्षा निकायले आवश्यक तयारी पूरा गरिसकेका र स्थानीय बजारमा यातायात सञ्चालनको लागि वैकल्पिक मार्गको व्यवस्थापन मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताएका छन्। रासस



प्रतिक्रिया दिनुहोस्