काठमाडौं, ५ साउन । कुनैबेला सशस्त्र माओवादी जनयुद्धमा एकसाथ भएर होमिएका थिए प्रचण्ड र डा. बाबुराम भट्टराई । प्रचण्डको सांगठनिक कुशलता र बाबुरामको रणनीतिक कुशलता मिल्दा माओवादीले सफलता पनि हासिल गर्यो । शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपटि प्रचण्ड र बाबुराम माओवादीबाट प्रधानमन्त्री पनि बने ।
शक्ति संघर्षको क्रममा प्रचण्ड र बाबुराम अलग भए । प्रचण्ड कम्युनिस्ट पार्टीमै रहे बाबुरामले कम्युनिस्ट सिद्धान्त परित्याग गरेको घोषणा गरे । उनले नयाँ शक्ति नामको दल खोले ।
प्रचण्ड एमालेसँग एकता गरेर नेकपाको अध्यक्ष भए । तर, एमालेमा केपी शर्मा ओलीको पेलाईमा परे । नेकपा फुट्यो र प्रचण्ड फेरि माओवादी अध्यक्ष बने ।
बाबुराम संघीय समाजवादी फोरमसँग मिलेर संघीय समाजवादी पार्टीका नेता बने । पछि जसपा बन्यो । तर, जसपाबाट बाबुराम निष्काशित भएका छन् ।
पछिल्लो समय प्रचण्ड र बाबुरामको मिलनबिन्दु खोजीको पहल भइरहेको छ । प्रचण्ड कम्युनिस्ट सिद्धान्त त्याग्न नचाहने र बाबुराम कम्युनिस्ट सिद्धान्त मान्ने गरी फर्कन नचाहने । यी दुईबीच पटक पटक भेटवार्ता भएपनि मिलनबिन्दु भेटिएको छैन । सम्भवत समाजवादी केन्द्र बनाएर जाने सहमति बन्न सक्छ ।
प्रचण्डले कम्युनिस्ट नाम छाड्दा सिद्धान्त नै त्यागेको सन्देश जाने भएकाले मानेका छैनन् । तर, बाबुराम मनाउन खोजिरहेछन् । प्रचण्डले विगतमा पनि धेरै पार्टी विघटन गरिसकेकाले यसपटक माओवादी केन्द्र विघटन गरेर समाजवादी केन्द्र निर्माणमा नेतृत्व लिनसक्ने सम्भावना छ । बाबुराम यसका लागि प्रचण्डलाई मनाउन खोजिरहेछन् ।