काठमाडौं, ६ साउन । विभिन्न साना चार दलले निर्विकल्प राष्ट्रिय शक्ति निर्माण गर्ने सत्कर्ममा जुट्न आह्वान गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी, रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी, नेपाल आमा पार्टी र सचेत नेपाली पार्टीले निर्विकल्प शक्ति निर्माणका लागि खुल्ला आह्वान गरेका हुन् ।
चार पार्टीहरुले ‘एक्लाएक्लै होइन, सँगै हिडौं , निर्विकल्प शक्ति निर्माण गरौं’ नारासाथ खुल्ला आह्वान गरेका हुन् ।
दल, स्वतन्त्र समूहहरु र व्यक्तित्वहरु समेतसँग सबैको सहभागिता, नेतृत्व, परामर्श र मार्गनिर्देशनबाट एउटा राष्ट्रिय शक्तिको नाम, झण्डा, चुनावचिन्ह, नेतृत्व र उम्मेदवारीसमेत तय गर्न साउन ९ गते हार्दिक होटलमा सर्वपक्षीय भेलाको आयोजना गरिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले अब देशमा अनुभवी व्यक्तिको आवश्यकता भएपनि खराब व्यवस्थाका अनुभवी व्यक्ति भने नचाहिने बताए ।
उनले भने,‘जसको जीवनभरिको अनुभव खराब व्यवस्था टिकाउन रह्यो, ब्यक्तिगत रुपमा कोही कुशल र असल भए होलान्, मूलतः खराब व्यवस्थाको सबै अवयवलाई टिकाउनको लागि भएको थियो ।’
पुरानै व्यवस्था टिकाउन खोज्नेहरुलाई वैकल्पिक राजनैतिक दल भनेर मिडियामा प्रस्तुत गरिएको भन्दै उनले आपत्ति जनाए ।
अहिलेको व्यवस्था फाल्न आन्दोलनमा लागेका शक्तिहरुलाई अन्तर्राष्ट्रिय शक्ति लगाएर तुहाईएको उनको आरोप छ । उनले भने,‘उनीहरु पुरानो वंशवाद, पुरानै व्यवस्थामा जान चाहान्छन, सांसद किनबेच गर्ने, त्यही सांसदले संसद भत्काउने, त्यही व्यवस्था टिकाउन चाहान्छन् ।’
उनले नेपाली जनता यतिबेला चरम निराशा र आक्रोशमा रहेको समेत टिप्पणी गरे । त्यसमध्येमा पनि आक्रोसमा सबैभन्दा बढी स्वतन्त्र समूह रहेको बताए । आफुहरु सांसदले गर्न नसकेका देश अहितका कयौं विषयहरुको विरुद्ध लडेको उनले सुनाए ।
राज्य व्यवस्थामा परिवर्तन ल्याउन अब बैकल्पिक शक्तिहरुको निर्माण हुन अत्यन्तै आवश्यक रहेको उनको भनाई थियो ।
उनले नयाँ युगको नयाँ मागहरु उठाउन, जनताको अधिकार सुनिश्चित् गर्दै अगाडी बढ्नुको विकल्प नरहेकोसमेत स्पष्ट पारे ।
उनले केही दलले आफ्नो चुनाव चिन्ह्, झण्डा त्यागेर, विशिष्ट व्यक्तिहरुको समेतको सल्लाहसुझाव लिएर साझा विचारसहित अगाडी बढ्नेसमेत प्रतिवद्धता जाहेर गरे ।
नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देश कुशासनले ब्याप्त रहेको टिप्पणी गरेका छन । देशहितको लागि आफुहरुको मात्र एउटा समुह रहेको पनि उनले दाबी गरे । उनले देश विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले भने,‘सबै देशभक्तहरु आ–आफ्नो तालमा हिँड्ने हो भने देशको कहिल्यै पनि विकास हुँदैन् ।’ खरेलले ९५ प्रतिशत जनताले अहिलेको व्यवस्था परिवर्तन गर्न खोजेको जिकिर गरे ।
उनले देशका २ करोड ९२ लाख जनता अहिलेको कुशासनबाट आजित भएको उल्लेख गरे । अहिलेको व्यवस्थाबाट ५ प्रतिशत जनताले मात्रले फाइदा लिइरहेको उनको भनाई थियो । उनले राम्रा–राम्रा मानिसहरुको एउटा टिम निर्माण गर्न आगामी सोमबार सर्वपक्षीय भेलाको आयोजना गर्न लागिएको जानकारी दिए । खरेलले अब सबै मिलेर सुशासनको एजेण्डा लिएर जनतामाँझ जाने पनि बताए ।
उनले देशलाई माया गर्ने समुह, सबै पार्टीमा असन्तृष्टि भएकाहरु व्यक्तिहरु सबैले अब आफ्नो विचार बास्केटमा राखेर एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
आफूहरु देशका विशिष्ट व्यक्तिहरुको सल्लाह र सुझावमा अघि बढ्ने प्रतिवद्धता गर्दै उनले भने,‘सबै साना÷ठुला देशलाई माया गर्ने एक ठाउँमा आउनुहोस्, कुन चुनाव चिन्ह् चाहानुहुन्छ सोहीअनुसार अघि बढौ ।’
यसैगरी, नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरीले देशमा लामो लडाईबाट व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था नसुध्रिएको टिप्पणी गरेका छन् । उनले राजनीतिक दलले जनतामाथि कुठराघात गरेको आरोप पनि लगाए । उनले भने,‘संवैधानिक निकायहरु सर्वोच्च अदालतदेखि राज्यका सबै निकायहरु ऋहिले कोमामा गएका छन् । प्रधानन्यायाधीशलाई निलम्बन गरेर राखिएको अवस्था छ ।’ गिरीले देशको अबस्था देखेर सच्चा नेपाली धर्तीका छोराछोरीहरुको मन पोलेको भन्दै उनले अब जनताले पनि सोच्नुपर्ने बेला आएको दाबी गरे ।
उनले देश रुपान्तरणको लागि महिनौंसम्म विचारविमर्श गरेर देशको माटोलाई माया गर्ने चार पार्टीहरु एकबद्ध भएको सुनाए । युवाहरु मिलेर जानुपर्ने उनको भनाई थियो । नेपाललाई माया गर्ने सबै संघ÷संस्था, विशेषज्ञ, व्यक्ति, अभियन्ताहरु एकताबद्ध हुन आउनुपर्ने उनको धारणा छ ।
त्यस्तै, सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाईँले सबै देशभक्त सचेत नागरिक एकजुट भए अहिलेको पूरानो व्यवस्था भत्काउन एक वर्ष पनि समय नलाग्ने बताएका छन् । उनले मानिसले समयअनुसार विचार बुझ्न नसके त्यसको कुनै अर्थ नहुने बताए ।
उनले अब देशमा भएको पुरानो सिस्टम र पुरानो परम्परा तोड्न सबै मिलेमा १ वर्षमात्र लाग्ने जिकिर गरे । उनले भने,‘सबैमा भएका साना/साना अहंकारमा अडियो भने उद्देश्य सफल हुँदैन्, सबैले अहंकार छाड्न जरुरी छ । देशको अवस्था २००७ सालदेखि २०१५ सालमा जुन अवस्थामा थियो अहिलेपनि त्यही हालत छ ।’ उनले देशको राष्ट्रियतामाथि खतरा उत्पन्न भएको भन्दै उनले भने,‘देशको अस्तित्व कुनै पनि बेला निमिट्यान्न हुनसक्ने स्थिति आएको छ । पश्चिमको महाशक्तिदेखि लिएर उत्तर दक्षिणका शक्तिले डिजाइन गरिसकेका छन् ।’
उनले अब देशको निम्ति लागेका सबै अभियन्ताहरु, शक्तिहरु महाशक्ति निर्माणको लागि लाग्नुपर्नेमा जोड दिए । प्रसाईँले माओवादी, नेपाली कांग्रेस सबैले जनताको नाममा राजनीति गरेपनि उनीहरुको मुद्दा छाडेर उद्योगपतिहरुसँग साँठगाँठ गरेको आरोप लगाए । उनले माओवादीले विचौलिया ल्याएर विदेशीको लागि आगामी आर्थिक वर्षको बजेट निर्माण गरेकोसमेत टिप्पणी गरे ।
अब देशको सेना शक्तिशाली बनाउनुपर्ने अवस्था आएको भन्दै देशको विकासको लागि सेना शक्तिशाली बन्न पर्ने उनले धारणा राखेका छन् ।
देशको विकासको लागि संसदीय व्यवस्था खारेजी हुनुपर्ने उनको भनाई थियो । उनले आफुहरुले राइट–टु–रिजेक्ट एण्ड रिकललाई पनि प्रतिस्थापना गर्न खोजेको स्पष्ट पारे । उनले भने,‘प्रत्येक संवैधानिक आयोगका आयुक्त, न्यायाधीशसहित सबैलाई राइट–टु–रिजेक्ट गर्न र जतिबेलापनि बोलाउन सकिने व्यवस्था गर्न स्थापना गर्न खोजिरहेका छौं ।’
देश एकदमै नाजुक र संवेदनशील अवस्थामा पुगेको भन्दै उनले सबै देशप्रेमीहरुलाई एकजुट आग्रह गरे । आगामी सोमबार सर्वपक्षीय भेलाले पार्टीको नाम, झण्डा र नेतृत्व चयन गर्ने पनि जानकारी दिए ।