Logo

सरकारी कार्यालय मिटिङको ‘अखडा’



काठमाडौं, साउन ८ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारभित्रका मन्त्रालयमा मन्त्री तथा सचिव भेट्न प्रायः हम्मेहम्मे पर्नेगर्छ । ‘सोर्सफोर्स’ नभएका सामान्य नागरिकलाई त मन्त्री–सचिवलगायत उच्चपदस्थ भेट्नु ‘आकाशको फल आँखा तरी मर’जस्तै हुने गरेको छ ।

सिंहदरबारका अधिकांश मन्त्रालयमा मन्त्री, सचिव, सहसचिव भेट्न जाँदा उनीहरूको सचिवालयबाहिरै भन्ने एउटै शब्द हो, ‘मन्त्री, सचिव, सहसचिव मिटिङमा व्यस्त हुनुहुन्छ ।’ सचिवालय कर्मचारीलाई घोकाइएको शब्द हो– मिटिङ मिटिङ एन्ड मिटिङ ।

सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका ‘हाकिम’ लगातार मिटिङमा व्यस्त हुन थालेपछि सेवाग्राही हैरान छन् । यो वर्षौं अघिदेखिको रोग हो । अझै अचम्म त के छ भने बाहिर जिल्लामा रहेर आफ्नो ‘मुख्य हाकिम’ भेट्न सिंहदरबार आउने कर्मचारीलाई हाकिम भेट्न कैयौं घण्टा मात्रै होइन, केही दिन नै पर्खनुपर्ने अवस्था छ ।

उता, सामान्य सेवाग्राही भने सचिव–सहसचिव भेट्न ‘सोर्सफोर्स र पावर प्रयोग गर्नुपर्ने’ अवस्था रहेको भन्दै गुनासो गर्ने गरेका छन् । उच्चपदस्थ बारम्बार मिटिङमा भएकाले भेट्न नपाइने बताइएपछि सेवाग्राही हैरान हुने गरेका छन् ।

सेवाग्राहीले हैरान हुनेक्रम बढेकाले होला, उनीहरू मन्त्रालयलाई ‘मिटिङको अखडा र हाकिमलाई कामचोर’को संज्ञा दिन थालेका छन् । नीति निर्माण तहमा समेत पहुँच राख्ने सिंहदरबारका सचिव–सहसचिव लगातार मिटिङमा व्यस्त हुने गर्दा पनि पछिल्लो समय उनीहरूले आमनागरिकको मन जित्ने गरी कुनै पनि महत्वपूर्ण नीतिगत योजना ल्याउन सकेका छैनन् ।

मिटिङमा मात्रै वार्षिक करोडौं खर्च हुने गरेको छ भने मिटिङबाट हुने ७५ प्रतिशत निर्णय कार्यान्वयन नै नहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विभिन्न अध्ययनले देखाएका छन् ।

अझै अहिले त सिंहदरबारका मन्त्रालयमा मिटिङकै लागि भनेर बनाइएका भव्य मिटिङ हलमा नभएर बाहिर फाइभस्टार होटलमा मिटिङ गर्नेक्रम बढेको छ । उच्च हाकिमले विभिन्न बहाना बनाएर पर्यटकीयस्थल धुलिखेल, गोदावरी, बूढानीलकण्ठ, सुकुटेलगायतका स्थानमा मिटिङ राख्ने गरेका छन् । मिटिङको बहानामा उनीहरूले ‘रिफ्रेस’ हुन त्यस्ता कार्यक्रम गर्ने गरेको बताइएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्