काठमाडौं, ८ साउन । नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनमा एक्लै बहुमत ल्याउने रणनीति बनाएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँडमा कम्तिमा एक सय सिट आफ्नो भागमा पार्ने काँग्रेसको रणनीति देखिएको छ । बाँकी ६५ मात्र गठबन्धनका अन्य दललाई दिने गरी काँग्रेसको तयारी देखिन्छ ।
२०७४ को निर्वाचनमा २३ सिटमात्र प्रत्यक्ष जितेको काँग्रेसले समानुपातिकमा भने ४० सिट जितेको थियो । यसपटक उसले ९५ सिट प्रत्यक्षतर्फ र ४५ को हाराहारीमा समानुपातिकतर्फ सिट जितेर बहुमत ल्याउने रणनीति बनाएको छ ।
काँग्रेसको एक्लै बहुमत ल्याउने रणनीति बुझेर प्रचण्ड र माधव नेपाल झस्किएका छन् । उनीहरुले काँग्रेसलाई आधाभन्दा बढी सिट नदिने गरी तयारी गरेका छन् । यसो नभए विकल्पमा जानेसम्मको तयारी देखिएको छ ।
माधव नेपालले शनिबार सार्वजनिक रुपमा काँग्रेसले दम्भ पालेको आरोप लगाएका छन् । सिट बाँडफाँटमा कुरा नमिलेपछि नेपालको अभिव्यक्ति आएको हो । माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि काँग्रेसविरुद्ध कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।
प्रचण्ड र माधव नेपालले बामदेव गौतम र डा. बाबुराम भट्टराईसमेतलाई समेटेर समाजवादी केन्द्र निर्माण गर्न खोजेका छन् । उपेन्द्र यादव भने कम्युनिस्टहरुले समाजवादी केन्द्र बनाउन नसक्ने तर्क गरेका छन् । यसकारण पनि उनी समाजवादी केन्द्रमा सामेल नहुने स्पष्ट देखिन्छ ।
काँग्रेसलाई एकल बहुमत ल्याउन नदिने र भविष्यमा गठबन्धन सरकारमै जानुपर्ने वाध्यात्मक अवस्था बनाउन प्रचण्डले रणनीति बनाइसकेका छन् । उनी चुनावपछिको प्रधानमन्त्री बन्न चाहन्छन् । आफूलाई त्यस अनुसार प्रस्तुत गरिसकेका छन् । यसकारण पनि काँग्रेसलाई १६५ सिटमध्ये आधाभन्दा बढी नदिने गरी प्रचण्ड र माधव नेपाल लागिसकेका छन् ।