Logo

समानुपातिकमा दलहरुको सिट बढ्ला कि घट्ला



काठमाडौं, ८ साउन । प्रतिनिधि सभाको आगामी चुनावमा दलहरुको मुख्य ध्यान प्रत्यक्ष निर्वाचनमा छ । प्रत्यक्ष निर्वाचनमा १६५ सिट हुनु र यसको महत्व पनि रहनुले ध्यान बढी गएको हो ।

प्रत्यक्षमा जस्ले बढी सिट जित्छ उसको समानुपातिकमा पनि बढी सिट आउने सम्भावना रहन्छ । त्यसैले दलहरुको ध्यान प्रत्यक्षमा जानु स्वाभाविक हो ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा कुल ८० सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फ ४१ सिट जित्यो । एमालेले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो ।

नेपाली काँग्रेसले प्रत्यक्षतर्फ २३ सिट जित्दा समानुपातिकतर्फ ४० सिट जितेको थियो । नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिट जितेकोमा समानुपातिकतर्फ १७ सिट जित्यो ।

तत्कालीन राष्ट्रिय जनता पार्टीले प्रत्यक्षतर्फ ११ सिट जितेकोमा समानुपातिकतर्फ ६ सिट जित्यो । महन्थ ठाकुर नेतृत्वको राजपा अहिले लोसपा बनेको छ ।

संघीय समाजवादी फोरम नेपालले प्रत्यक्षतर्फ ११ सिट जितेकोमा समानुपातिकतर्फ ६ सिट जितेको थियो । उपेन्द्र यादव नेतृत्वको उक्त दल अहिले जसपा बनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेमकिपाले प्रत्यक्षतर्फ १-१ सिट जितेपनि समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फ कुनै सिट प्राप्त गरेनन् ।

यसपटक प्रतिनिधि सभामा दलहरुबीच प्रत्यक्षतर्फ तालमेल र गठबन्धनको चर्चा छ । त्यस्तो अवस्थामा समानुपातिकतर्फको नतिजामा पनि असर पर्न सक्छ ।

नयाँ दलहरु पनि आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । यसले पनि ठूला दलको मतमा असर पर्न सक्छ ।

विगतमा समानुपातिकतर्फ सबैभन्दा बढी ४१ सिट जितेको नेकपा एमाले फुटेको छ । एमालेबाट फुटेर बनेको नेकपा एस पनि कम्तिमा चौंथो ठूलो दल बन्ने उद्देश्यका साथ सक्रिय छ ।

जसपा र लोसपाबीच पनि टकराव छ । विगतमा तराई क्षेत्रमा तालमेल गरेका यी दुई दलको मतमा पनि असर पर्न सक्छ । समानुपातिकतर्फमा भने खासै फेरबदल नआउने सम्भावना छ ।

समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड राप्रपाले यसपटक कटाउने सम्भावना छ । विगतमा फुटेको राप्रपा यसपटक जुटेको छ । कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अलग अलग पार्टी बनाएर चुनाव लडेका थिए । यसपटक राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष बनेका छन् भने लोहनी र राणा सोही दलमा छन् । कमल थापा एक्लिएका छन् ।

नयाँ बनेका दलहरुले पनि प्रत्यक्ष र समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर प्रतिनिधि सभामा प्रतिनिधित्व बनाउने लक्ष्यका साथ आफूलाई बढाइरहेका छन् । यसले समानुपातिकको ११० सिटमा सबैजसो दलहरुको विगतमाभन्दा सिट घट्ने सम्भावना बढेको छ ।



प्रतिक्रिया दिनुहोस्