काठमाडौं, साउन ११ । सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको हो ।
बाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीसाधनमा नगदरहित भुक्तानी प्रणाली लागू हुनेछ । मन्त्रालयले विकसित मुलुकमा जस्तै यात्रा गरेको दूरीअनुसार कार्डबाटै भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्ने तयारी गरिरहेको जनाएको छ ।
मन्त्रालयले कार्डरहित नगदप्रणालीका लागि उपकरण जडान तथा प्रणाली सञ्चालनका लागि सिलबन्दी प्रस्तावसमेत गरिसकेको छ ।
प्रत्येक सार्वजनिक गाडीमा ‘डिभाइस’ जडान र सोही ‘डिभाइस’मा यात्रुले कार्ड ‘स्वाइप’ गरेर भाडा भुक्तानी गर्न मिल्ने व्यवस्था गर्ने तयारी छ । यसका लागि प्रदेश सरकारले सुरु चरणमा काठमाडौं उपत्यकामा यो व्यवस्था लागू गर्ने तयारी गरेको छ ।
काठमाडौं उपत्यकामा यो व्यवस्था सफल भएपछि क्रमशः बाग्मती प्रदेशका अन्य जिल्लामा लागू गर्दै लैजाने तयारीमा प्रदेश सरकार रहेको छ । मन्त्रालयले काठमाडौं उपत्यकामा दसैंभित्रै यो व्यवस्था लागू गर्ने तयारीसमेत गरेको छ ।
बाग्मती प्रदेश सरकारले नगदरहित व्यवस्था लागू गर्ने तयारी गरे पनि यो पहिलो भने होइन । यसअघि, साझाका केही बसमा यस्तो प्रणाली जडान गरिएको थियो । तर, साझामा यो व्यवस्था प्रभावकारी बन्न सकेको थिएन । राजधानी दैनिकबाट