Logo

इङ्ल्यान्ड युरोकपको फाइनलमा



काठमाडौं, साउन ११ । घरेलु टोली इङ्ल्यान्ड युईएफए वुमेन्स युरोकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा स्वीडेनलाई ४-० गोलले पराजित गर्दै इङ्ल्यान्ड दोस्रोपटक युरोकपको फाइनलमा प्रवेश गरेको हो ।

ब्रामल लेनमा भएको खेलमा इङ्ल्यान्डलाई जीत दिलाउन बेथ मेड, लुसी ब्रोन्ज, एलेस्सिया रुसो र फ्रान किर्बीले समान एक/एक गोल गरे । पहिलो हाफको ३४ औं मिनेटमा ब्रोन्जको पासमा मेडले गोल गर्दै इङ्ल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा मेडको क्रसमा ब्रोन्जले हेडिङ गोल गर्दै इङ्ल्यान्डको अग्रता दोब्बर बनाइन् ।

६८ औं मिनेटमा रुसोले गोल गर्दा घरेलु टोली सहज जीततर्फ अगाडि बढेको थियो । यस्तै ७६ औं मिनेटमा मेडको पासमा किर्बीले गोल गर्दै इङ्ल्यान्डलाई ४-० गोलको जीत दिलाइन् । जीतसँगै इङ्ल्यान्ड फाइनलमा प्रवेश गर्दा स्वीडेन प्रतियोगिताबाट बाहिरिएको छ ।

अब इङ्ल्यान्डले उपाधिको लागि जर्मनी र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । यसअघि सन् २००९ मा इङ्ल्यान्ड फाइनलमा पुगेपनि जर्मनीसँग ६-२ गोलले पराजित भएको थियो । यसपटकपनि जर्मनीसँग फाइनलमा भेट हुने उच्च सम्भावना रहेको छ । एजेन्सी ।



प्रतिक्रिया दिनुहोस्