काठमाडौं, १२ साउन । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एस.इ.इको नतिजा निराशजनक नरहेको स्पष्ट पारेका छन् । उनले एस.इ.इको नतिजामा सन्तोष गर्ने ठाउँ धेरै रहेको जिकिर गरे । एस.इ.इको नतिजा आएको भोलिपल्ट आज (बिहीबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘क्लबले आज जुन कार्यक्रमको आयोजना गरेको छ, यसप्रति म आभारी छु, क्लबले बेला बेलामा शिक्षा प्रणालीको सन्दर्भमा खासगरी यसको सुधारको सन्दर्भमा विभिन्न सरोकारवालाहरु राखेर घच्घचााउने काम गर्नुपर्छ । र, त्यसबाट आउने सुझाव आम नागरिकको बीचमा राख्न सकियो भने यसले हाम्रो शिक्षा प्रणालीमा सुधार गर्न मद्दत पुग्दछ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित उनले अहिले देशको शिक्षा प्रणालीमा देखिएको समस्याको जिम्मेवारी सबैले लिनुपर्ने पनि बताए । उनले भने,‘हामी समग्रमा जिम्मेवार छौं । नेपालको शिक्षा क्षेत्र चासोको रुपमा हेरिएको छ । एस.इ.इको नतिजा हेरेर विद्यार्थी स्वयमलाई के थाहा हुन्छ भने उ विद्यालय तह पार गरिसकेपछि म कहाँ पुग्छु भन्ने कुरा पनि छ । यो परिक्षाको कुरा गर्दा विद्यार्थीले आफ्नो स्तर हेर्ने मुख्य परीक्षा हो ।’
एस.इ.इको नतिजाबारे बाहिर आलोचना भएको भएपनि उनले भने नतिजाबारे सन्तोष व्यक्त गरे । उनले भने,‘कोभिडको महामारीबाट विद्यार्थीले दुई वर्ष पढ्न नपाएको अवस्था थियो । यो वर्षपनि कोभिडको प्रभाव थियो । विद्यालयमा जुन किसिमको सिकाई हुन सकेको थिएन । शिक्षक भएकै ठाउँमा पनि विद्यार्थीले जति समय पढ्न पाउनुपर्दथ्यो, त्यति समय पढ्न पाएनन् । यसले विद्यार्थीको पठनपाठनमा असर पुर्याएको थियो । एस.इ.इ. भनेको आन्तरिक होईन, यो त बाहृय परीक्षा हो । ५ लाख विद्यार्थीलाई जुन किसिमको वातावरणमा परीक्षा लिएका छौं । वातावरणको कुराले पनि रिजल्टलाई पनि असर पार्न सक्छ ।’
उनले कक्षा कोठाभित्र हुने सिकाई अनुसार नै नतिजा आउने बताए । उनले भने,‘हाम्रा विद्यार्थील जति सिकेका छन्, त्यस्तै नतिजा आएको हो । यो नतिजाले माथिल्लो ग्रेड पाउने विद्यार्थीको संख्या निकै कम देखाएको छ । यो तथ्यांक हो । हाम्रो शिक्षा नीति खासगरी यसको नीतिगत रुपमा कार्यान्वयन गर्ने ठाउँमा कमजोरी छ । यसमा सबै पक्ष मिलेर सुधार गर्नुपर्छ । कतिपय ठाउँमा स्रोतको व्यवस्थापन गर्ने कुरा छ । शिक्षण सिकाईलाई प्रभावकारी बनाउनुपर्छ । नीति रिभ्यु गर्न जरुरी छ । नतिजा मात्रै विश्लेषण गरेर पुग्दैन् । हामी अहिलेसम्म जसरी अघि बढेका छौं, कहीँकतै कमजोरी छन् । सम्बन्धित ठाउँका सम्बन्धित व्यक्तिले सुधार गर्दै जानुपर्छ ।’