काठमाडौं, साउन १७ । घरको जगदेखि पुनर्निर्माण गर्नुपर्ने माग गर्दै सिसडोलका पीडितले काठमाडौं महानगरपालिकामा पत्र पठाएका छन् । सिसडोलस्थित ककनी गाउँपालिका–१ कोल्पु निवासी टंकनाथ न्यौपानेले बाटो निर्माण गर्ने क्रममा नाली थुनिएर घरभरि पानी पसेर बस्नै नसक्ने भएपछि कामपालाई पत्र पठाएका छन्। उनले सो घर पुनर्निर्माण गर्न तत्काल क्षतिपूर्ति माग गर्दै पत्र पठाएका हुन्।
पत्रमा भनिएको छ– ‘फोहोर विसर्जन जाने बाटो नबनाएको कारण नाली पुरिएर घरभित्र भेल पानी पसेर घर लड्ने अवस्थामा पुगेको र त्यस घरलाई भत्किनबाट रोक्न त्यसठाउँमा अनुगमन गरी तत्काल क्षतिपूर्ति दिन माग गर्दै अन्यथा क्षतिपूर्ति नदिए फोहोर ढुवानीका साधन रोक्न बाध्य हुनेछौ ।’
केही दिनअघि बाटोको पानी खेतमा पसेर बाली सखाप पारेको भन्दै तारकेश्वरका स्थानीयले क्षतिपूर्ति मागेका थिए । यस्ता क्षतिपूर्ति माग्ने दर्जनौं स्थानीयको माग पूरा गर्दागर्दै कामपाले लाखौं खर्चने गरेको छ ।
कामपालाई पत्र पठाएका न्यौपानेले भने– ‘नाली थुनिएर मेरो घर बस्नै नहुने गरी ढल्न थालेपछि के गर्ने त? पटकपटक ताकेता दिँदा पनि बाटो बनाउने ठेकेदारले बेवास्ता गरेका कारण महानगरलाई बाटो बन्द गर्ने चेतावनी दिएका हुँ ।’ उनले बन्द वा हड्ताल नगरी सुनुवाइ नहुने भएपछि चेतावनी पत्र पठाएको बताए ।
न्यौपानेले सिसडोलको बाटो छेउमा परेको कारण वार्षिक करिब १ लाख बढी क्षतिपूर्ति लिने गरेका छन् । ‘२०७७ सालमा लिएँ, २०७८ सालको लिएँ वा लिइनँ ज्ञान छैन, तर कामपाले तोकेको थोरै रकम लिने गरेका छौं । सन्चो नभएकाले म यो घरमा बस्दिनँ, लाखौँ रुपैयाँ खर्च गरेर घर बनाएको छु । घरभरि पानी पसेर बस्नै नहुने भएपछि मागपत्र पेस नगरेर के गर्ने त?’ –उनको प्रश्न छ ।
कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले कामपाले बाटो छेउका घरटहराको क्षतिपूर्ति दिने गरेको जानकारी गराउँदै न्यौपानेको घरमा पानी पसेर बस्नै नभएको विषयमा कामपाले काम गरिरहेको बताईन् । कामपाले घर र टहराको क्षतिपूर्तिबापत गएको वर्ष ६५ लाख रुपैयाँ वितरण गरिसकेको छ । नेपाल समाचारपत्र दैनिकबाट