काठमाडौं, १७ साउन । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले राजनीतिक दलका नेताहरूले नै कोरोना संक्रमण फैलाएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने, “नेताहरु नै कोरोना छैन भनेजस्तो गरेर हिँडिरहेका छन् । न मञ्चमा बस्नेले मास्क लगाएको छ, न त तल बस्ने कार्यकर्ताले लगाएका छन् । मञ्चबाट मास्क लगाऊ भन्ने एउटा माइकलाल पनि निस्कँदैन । कोभिडको म्युटेसन भएको भयै छ । कुनै म्युटेसन भ्याक्सिनले पनि नछुने खालको देखिसकिएको छ । छिटो छिटो फैलने खालको छ । सिकिस्त पार्न सक्छ । त्यसमा खेलवाड नगरौं ।”
तीनवटा खोप र सतर्कता अपनाउँदा अपनाउँदै आफू पनि सात दिन थला परेंको दृष्टान्त उनले दिए । डा. दीक्षितले थपे, “मैले क्लिनिकमा बिरामी हेर्नुपर्छ । परिवारले नै खोप नलगाएको पनि भेटियो । मलाई नै १०२.४ मलाई ज्वरो आयो । सात दिन थला परेंँ । त्यसैले प्लिज माक्स लगाउनोस् ।”
कोरोना रोकथामका लागि चौथो भ्याक्सिन दिइहाल्नुपर्ने पनि डा. दीक्षितले औंल्याए । उनले भने, “माक्स लगाउने दायित्व हाम्रो हो, खोप दिलाउने काम सरकारको हो । सरकारले तत्काल भ्याक्सिनको अभियान तत्काल चलाओस् । चौथो भ्याक्सिन पनि दिइहालौं । खोपले धेरै बचाउँछ ।”
अर्को प्रसंगमा उनले नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी गरेर चुनाव सार्न खोजेको आरोप पनि सरकारमाथि लगाए उनले भने, “विप्लवमाथि पक्राउ पुर्जी जारी गरेपछि मलाई मलाई शंका लागेको छ । विप्लवले उथलपुथल गरोेस् अनि चुनाव टार्न खोजेको त होइन ? केपी ओली सरकारको पालामा उसको समूह सहमतिमा आएको पाटनको अदालतलाई थाहा भएन ? ओलीले सहमतिमा ल्याउने, गठबन्धन सरकारले पालना नगर्ने ?”
गठबन्धनको सरकार आम जनताका लागि अभिशाप भएको डा. दीक्षितको टिप्पणी छ । उनले भने, “चोलेन्द्रशमशेरमाथि के खान महाभियोग किन लगाएको ? जनार्दन शर्मालाई नेगेटिभ सफाइ दिएको छ । यस्तो पनि सफाइ हुन्छ ? लोकतन्त्रको उपहास हो । शेरबहादुर देउवा र प्रचण्डले पैसाका लागि जनार्दन शर्मालाई फेरि अर्थमन्त्रालयमा पठाउनु बेइमानी हो । गठबन्धनको सरकार त हाम्रा लागि अभिशाप नै भैसक्यो ।”