काठमाडौं, २२ साउन । रानीबारी उपभोक्ता समितिको छैटौं साधारण सभा सम्पन्न भएको छ। सम्पदा गार्डेन होटलमा शनिबार सम्पन्न भएको सभाले विभिन्न विषयमा निर्णय गर्नुका साथै समितिको गत आ.ब.२०७८–७९को लेखा परीक्षण प्रतिवेदन र आय व्यय विवरण पारित गर्नुका साथै बार्षिक गतिविधिको विवरण र चालू आ.ब.को कार्य योजना अनुमोदन गरेको छ।
राजपरिषद्का पूर्व सदस्य, उद्योगपति, व्यवसायी एवं समाजसेवी गजानन्द अग्रवालको प्रमुख आतिथ्यमा समितिका अध्यक्ष डा.रामबाबू ढकालको सभापतित्वमा चार्टर्ड एकाउन्टेन्ट, समितिको परामर्श दातृ नुमनाथ पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा का.म.न.पा. वडा नं.३ का वडा अध्यक्ष प्रेम थापा र वडा सदस्यहरू कृष्ण चालिसे, सीता थापा, सर्मिला परियार, केशवप्रसाद श्रेष्ठ विशेष अतिथिहरू रहेका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले नवनिर्वाचित वडा समितिले समुदायको चाहना अनुरूप नै वडाले कार्य गर्ने बताए । उनले रानीबारी क्लबदेखि ढुंगेधारासम्म बाटो फराकिलो पारी पिच गर्ने काम यहि आर्थिक वर्षभित्र सम्पन्न गर्ने वडाको लक्ष्य रहेको बताए । उनले भने,‘माथिल्लो रानीबारी, तल्लो रानीबारी हुँदै तिलिङ्गेटारमार्ग रानीबारी मार्ग हुँदै चक्रपथसम्मको बाटोलाई योजनाभित्र राखेर सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।’
सांसद मानबहादुर विश्वकर्मा विशिष्ट अतिथि र वीरेन्द्र प्रहरी अस्पतालका प्रहरी उपरीक्षक लालवावु गिरी, वडा नं.३ का पूर्व वडा अध्यक्ष दिपक के.सी., समितिका आजीवन सदस्यहरू राजेश अधिकारी, च्याण्टु लामा, गणपति पाण्डेसमेतले आ–आफ्नो संक्षिप्त मन्तव्य राखेका थिए ।
कार्यक्रममा अग्रवाललाई दोसल्ला ओढाई सम्मान गर्दै सम्मान–पत्र प्रदान गरिएको थियो। समितिका उपाध्यक्षसावित्री बस्न्यातले स्वागत मन्तव्य, सचिव रमिला बस्नेतले वार्षिक गतिविधि प्रतिवेदन र कोषाध्यक्ष दीपा सुवेदीले लेखा परीक्षण प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
सभामा कार्य समितिका सदस्यहरू, आजीवन सदस्यहरू र रानीबारी टोलबासीहरूको अधिक संख्यामा सहभागिता रहेको सचिव रमिला बस्नेतले जानकारी दिइन् ।