काठमाडौं, साउन २६। भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सेवाप्रवाह प्रभावकारी बनाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिएको छ ।
अख्तियारले सचिव तथा विभागीय प्रमुखले जिम्मेवारी र इमानदारीपूर्वक काम गर्न नसक्दा मातहतका निकायमा भ्रष्टाचार बढेको र त्यसविरुद्ध अख्तियारमा उजुरी आउने क्रमसमेत ह्वात्तै वढेको निष्कर्ष निकालेको छ ।
अख्तियारको सो निष्कर्षपछि सचिव र विभागीय प्रमुखलाई त्यस्ताखाले उजुरी आउन नदिन अख्तियारमा नै बोलाएर सचेत पारिएको हो । मुख्य सचिव शंकरदास वैरागीलाई सँगै राखेर अख्तियारले सचिव र महानिर्देशकलाई कुनै खाले भ्रष्टाचारमा सहभागी हुन नदिन, मातहतलाई पनि सुशासनयुक्त राख्न, परिणाम निस्कने गरी काम गर्न र जनतालाई प्रभावकारी सेवा दिनसमेत निर्देशन दिएको छ ।
अख्तियारले मंगलबार र बुधबार लगातार दुई दिनसम्म सरकारका सबै मन्त्रालयका सचिव तथा मातहतका विभागका महानिर्देशक एवं अन्य विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर छलफल र केरकार गरेको हो ।
अख्तियारले पहिलो चरणमा आयोगले सरकारलाई दिएका सुझावको कार्यान्वयन, विकास आयोजनालाई समयमै मितव्ययी ढंगले सम्पन्न गर्ने र विकास निर्माणका कार्यमा गुणस्तर कायम गर्ने, एकीकृत विकासको अवधारणालाई कार्यान्वयन गर्ने, विकास निर्माण तथा सार्वजनिक खरिदसम्बन्धी सवाल र विषयगत सवालमा छलफल गराएको थियो ।
यसैगरी सचिव र महानिर्देशकसँगको दोस्रो चरणको छलफलमा सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको विद्यमान अवस्था, कार्यसम्पादनका क्रममा आइपरेका समस्या, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धधनका लागि गरिएका प्रयासहरू र आयोगबाट दिइएको सुझाव कार्यान्वयनको अवस्थाको विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
प्रशासनविद्का अनुसार पछिल्लो समय सरकारका मन्त्री, सचिव तथा महानिर्देशकको मिलेमतो (सेटिङ)मा विभिन्न खाले नीतिगत भ्रष्टाचार र अनियमितता हुँदै आइरहेका छन् । राजधानी दैनिकबाट