काठमाडौं, साउन २६ । राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारी (नायब सुब्बा) हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्दैछन् ।
देशभरका हजारौं नासु तहका कर्मचारी सोमबारदेखि आन्दोलनमा उत्रिएपछि सरकारी कार्यालयको कामकाज प्रभावित बन्न पुगेका बेला शक्ति प्रदर्शनस्वरूप पाँचवटै ट्रेड युनियन मिलेर माइतीघर मण्डलामा धर्ना दिन लागेका हुन् ।
सरकारले बजेट भाषणमा घोषणा गरेको भन्दा ठीकविपरीत असमान ढंगले तलब वृद्धि गर्न लागेकोमा असन्तुष्टि जनाउँदै आएका उनीहरूले अब निजामती सेवा ऐनको विषयमा माइतीघरमा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले भने बजेट भाषणमा वृद्धि भएको अनुसार नै तलब बढ्ने आश्वासन नायब सुब्बाहरूलाई दिएपछि उनीहरू अब प्रस्तावित निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै शक्ति प्रदर्शन गर्ने निर्णयमा पुगेका हुन् ।