काठमाडौँ,१ भदौ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मङ्गलबार सकिएको छ । खड्गमाई सांस्कृतिक समूहले बाघजात्राको सुरुआत गरेको थियो । बन्दीपुरका नेवार समुदायका व्यक्तिले तीन वर्षपछि बाघजात्रा मनाएका हुन् । कोभिड–१९ को जोखिमका कारण यसअगाडि बाघजात्रा निकालिएको थिएन ।
बन्दीपुर नेवा पुचःका अध्यक्ष किसन प्रधानले भने, “जात्रामा बाघले दुःख दिने गरेको, मात्तिएर हिँड्ने गरेको, शिकारीले बाघलाई लखेटेर मारेको र मारिएको बाघलाई राजाको जिम्मा लगाइएसँगै जात्रा समापन भएको दृश्य देखाइएको थियो । ” जात्रामा बाघ, डाक्टर, नर्स, शिकारी, पहलवान, राजाको भूमिकामा बन्दीपुरका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए ।
कोभिड–१९ को जोखिमका कारण विगत तीन वर्षदेखि ननिकालिएको बाघजात्रा यो वर्ष निकालिएको खड्गमाई सांस्कृतिक समूहका अध्यक्ष गेहेन्द्र कायस्थले जानकारी दिए । संस्कृति संरक्षणका लागि बाघजात्रा निकालिएको जानकारी दिँदै उनले भने, “ऐतिहासिक संस्कृति संरक्षणका लागि हामी सधैँ क्रियाशील छौँ ।” बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् । बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ । भक्तपुरबाट बन्दीपुरमा छिरेका नेवार समुदायले यहाँको जात्रा र संस्कृति संरक्षण गर्दै आएको बताइन्छ ।
उनीहरूले बन्दीपुरमा व्यापारमात्रै नगरी पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आएका छन् । बन्दीपुरका नेवारहरूले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । बन्दीपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण बन्दीपुरको नामाकरण मगर भाषामै गरिएको छ । वन भनेको जङ्गल र डी भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ ।
आजभन्दा साढे दुई सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दीपुर बसाइसराइँ गरी आएका जनाइएको छ । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थातथलो बनाए । भक्तपुरबाट उनीहरूमात्रै बन्दीपुर आएनन्, सँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो । सन् १७६८ तिर पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरू बन्दीपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरूकै कारण बन्दीपुरमा आजसम्म विभिन्न जात्राको परम्परा रहँदै आएको छ ।
कल सेन्टर सञ्चालनमा आउँदै
व्यास नगरपालिकाले भदौ १ गते (आज)देखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । नगरवासीको गुनासो सुन्नका लागि नगरपालिकाले शुल्क नलाग्ने कल सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कल सेन्टर सञ्चालन गर्ने उल्लेख गरिएको थियो । नगरवासीको गुनासो सुनुवाइका लागि कल सेन्टर सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
“नगरवासीका समस्या तथा गुनासो सुन्नका लागि चौबीसै घण्टा नै खुला रहने गरी कलसेन्टर सञ्चालनमा ल्याउन लागेका हौँ”, उनले भने, “गुनासो र समस्या सुनेपछि तत्कालै त्यसको समाधानका लागि प्रयत्न गरिनेछ ।” नगरपालिकाले सबै वडामा सेवाग्राहीलाई आवश्यक निवेदन, फोटोकपी सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ । सेवा लिन आउँदा फोटोकपी गर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्थाको अन्त्यका लागि वडा कार्यालयबाटै निःशुल्क सेवा दिइने नागिलाले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा नै नगरपालिकाको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउन र छिटोछरितो सेवा प्रवाह गर्न सबै वडालाई प्रविधिमैत्री गराउने भएको छ ।
बुवाआमाको स्मृतिमा छात्रवृत्ति कोष
भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चक्रबहादुर अधिकारीले बुवाआमाको स्मृतिमा उक्त विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरेका छन् । अधिकारीले बुवा सन्तबहादुर र आमा मधुमाया अधिकारीको स्मृतिमा सन्तबहादुर–मधुमाया अधिकारी स्मृति छात्रवृत्ति कोष स्थापना गरेको हो ।
यसका लागि अधिकारीले विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार साहलाई हालै रु ५१ हजार एक सय ५१ को चेक हस्तान्तरण गरेका छन् । आफैँले १९ वर्षसम्म अध्यापन गराएको विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यस्वरुप कोष स्थापना गरेको पूर्व प्रअअधिकारीले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक साहले अक्षयकोषबाट प्राप्त हुने व्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए । अधिकारी उक्त विद्यालयको संस्थापक प्रधानाध्यापकसमेत छन् । उनले विसं २०५८ सम्म उक्त विद्यालयमा अध्यापन गराएका थिए । उनले गत वर्ष नै भानु नगरपालिका–१३ सम्जुरस्थित जनसहयोगी माविमा पनि सासू–ससुराको स्मृतिमा रु ५१ हजार एक सय ५१ को छात्रवृत्ति कोष स्थापना गरेका थिए । अधिकारीले अघिल्लो वर्ष व्यास–१ स्थित जलदेवी माविमा तीन बालबालिकालाई भर्ना गरेर पढ्ने व्यवस्था मिलाइदिएका थिए। रासस