Logo

“रामेछापको प्रदेश ‘ख’ का मतदातामध्ये ८० प्रतिशतले मलाई ‘बाई नेम-बाई फेस’ चिन्छन्” : भरत चौलागाई



रिपोर्टर्स नेपाल संवाददाता : संघीय र प्रादेशिक चुनावको सरगर्मी बिस्तारै बढ्दै छ । हरेक पार्टीका नेताहरूले आआफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । यसै मेसोमा रामेछापको प्रदेश ‘ख’ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता भरत चौलागाईले सशक्त दाबेदारी प्रस्तुत गरेका छन् ।

रामेछापका जनप्रिय नेता भरत कांग्रेसको चौधौं महाधिवेशनमा सर्वाधिक दोस्रो मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका थिए । उनी पार्टीको तेह्रौंमा महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि नै थिए । बाह्रौं महाधिवेशनमा जिल्ला कार्यसमितिका सदस्य चुनिएका उनी पार्टी केन्द्रको प्राकृतिक स्रोत साधन विभागको सदस्य थिए ।

उनी त्यस्ता नेता हुन्, जो २०४४ सालदेखि अनवरत रुपमा सामाजिक र राजनीतिक काममा होमिएका छन् । जनताको घरदैलोमा पुगिरहन्छन् । सामाजिक कामबाट चिनिएका छन् । र, सबैजसो दलको दम्भ र हैसियत बुझेका छन् ।

प्रदेशमा नै किन त ? उनी जितको आधार प्रस्तुत गर्छन्, “को कांग्रेस, को कम्युनिस्ट, मैले हरेक जनताको सुखदुःखमा साथ दिएको छु । साँच्चै भन्ने हो भने रामेछापको प्रदेश ‘ख’ का मतदातामध्ये ८० प्रतिशतले मलाई ‘बाई नेम-बाई फेस’ चिन्छन् ।”

बाग्मती प्रदेश सभामा गएर राजधानीबाट नजिक भएर पनि विकासमा ज्यादै पिछडिएको जिल्ला रामेछापको समृद्धिमा योगदान गर्न चाहन्छन्, भरत चौलागाई । उनले यहाँको सबैभन्दा ठूलो समस्या गरिबीलाई नै देखेका छन् । त्यसको एउटा कारण के हो भने कृषियोग्य जमिनमा सिँचाइ छैन ।

उनको सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले जितेको भए पनि वडामा कांग्रेसले जितेको छ । २०७४ मा माओवादी केन्द्रले जितेकाले संघमा उसकै प्रतिनिधित्व भयो भने प्रदेश कांग्रेसको भागमा पर्न सक्छ । जनमतका हिसाबले रामेछापमा सिट तालमेल हुने भनेको कांग्रेस र माओवादी केन्द्रकै बीचमा हो ।

यसपटक कांग्रेस एक्लै लड्दा पनि जित्ने स्थिति रहेको भरत बताउँछन् । उनी भन्छन्, “अहिले रामेछापमा कांग्रेसको स्थिति एकदमै राम्रो छ । गठबन्धन नगर्दा पनि संघ र प्रदेश गरी तीनवटा सिटमा जित्न सक्छ । गठबन्धन गरेपछि त झन् सुनिश्चित भइहाल्यो । गठबन्धनमा भागबन्डा के हुन्छ, त्यस आधारमा पार्टीले पत्यायो भने प्रदेशमा लड्ने विचार गरेको हुँ ।”

त्यसो त रामेछाप कांग्रेसमा संघ र प्रदेशका आकांक्षीहरूको कुनै कमी छैन । भरत भन्छन्, “पार्टीमा प्रदेशका आकांक्षी म मात्र होइन, पचासौं साथीहरु छन् । तर पार्टीले मेरो सक्रियता हेरेर टिकट दिन्छ भन्ने विश्वास लागेको छ ।”

नेता चौलागाईको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै हो । उनका ठूलाबुबा शक्तिवल्लभ चौलागाई कुनै बेला बाग्मती अञ्चल सदस्य थिए भने हजुरबा आत्मालाल गाउँ फर्क अभियानमा लागेका थिए । उनका पिता सिद्धप्रसाद भने खेतीकिसानीमै रमाए । पाँच दाजुभाइ र एक दिदीमध्येका कान्छा भरत पनि २०४६ देखि सक्रिय राजनीतिमा लागेका हुन् ।

२०४४ मा एसएलसी गरेपछि उच्च शिक्षा हासिलका क्रममा उनी प्रभुराम बस्नेत अध्यक्ष हुँदाको अनेरास्ववियुका केन्द्रीय सदस्य थिए । २०४८ मा नेपाली कांग्रेसको विचार, सिद्धान्त र कार्यक्रम मन पराए र पार्टी प्रवेश गरे । त्यसयता उनी निरन्तर कांग्रेसमै क्रियाशील छन् ।

नेपाली कांग्रेसमा उनका प्रेरणादायी नेता भने बीपी कोइराला र गिरिजाप्रसाद कोइराला हुन् । उनी गिरिजाबाबुसँग अत्यन्त नजिक थिए । बाक्लै संगत पनि गरे । उनी सुनाउँछन्, “गिरिजाबाबु काठमाडौंमा भएका बेला म दसौं वर्ष संगत गरेको छु । उहाँ कार्यकर्ताको भावना बुझेर काम गर्ने नेता हुनुहुन्थ्यो । उहाँ कार्यकर्ताका लागि नेता मात्र होइन, भगवानजस्तै हुनुहुन्थ्यो ।”

२०२६ भदौ ८ मा रामेछापको सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा जन्मेका चौलागाईकी पूर्व शिक्षिका पत्नी विष्णुदेवी पाण्डे पनि राजनीतिमै छिन् । नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष र कोषाध्यक्ष रहिसकेकी पाण्डे नवलपरासीबाट नेपाली कांग्रेसको महासमिति सदस्य छिन् । चौलागाई दम्पतीका एक मात्र छोरा अनिष इन्जियिनरिङमा स्नातकोत्तर गर्दैछन् ।

 



प्रतिक्रिया दिनुहोस्