Logo

‘भूकम्प जाँदा उद्धारमा खटिएको बिर्सन मिल्दैन’



पोखरा, भदौ ८ । पछिल्लोपटक २०७२ सालको भूकम्पको बेला उद्धार र राहत पुर्‍याउने काममा पोखरा विमानस्थल निकै उपयोगमा आएको थियो। अरू बेला नियमित हवाईसेवा दिइरहेको यो विमानस्थलले भूकम्पका बेला राहत र उद्धारमा साथ दिएको हो। भूकम्पपीडितको सहयोगका लागि आएका भारतीय वायुसेनाले हेलिकोप्टर कैयौं दिन यही विमानस्थलमा राखी पोखरा र आसपास जिल्लाका भूकम्पपीडितका लागि राहत सामग्री बोकेर खटेका थिए।

प्राकृतिक प्रकोपका बेला एउटा विमानस्थलले राहत र उद्धारमा कतिसम्म योगदान दिन्छ भन्ने यो उदाहरण नै काफी छ। केही गरी त्यो बेला यो विमानस्थलले साथ नदिँदो हो त ती भारतीय हेलिकोप्टरको सेवा सहज नहुन पनि सक्थ्यो।

एउटा विमानस्थलका कारण प्राकृतिक प्रकोपका बेला राहत र उद्धारमा खटिन कत्तिको सहज हुन्छ भन्ने पोखरेलीले त्यतिबेलै अनुभव गरे। त्यसैले पोखरेलीले भन्ने गरेका छन्, ‘विमानस्थल वा विमानस्थलजस्ता खुला ठाउँ कुनै पनि बेलाका लागि आवश्यक पर्न सक्छन्, अझ प्राकृतिक प्रकोपका बेला त झनै काम लाग्छन्। यस्ता संरचना यथास्थितिमा राख्नुपर्छ। सहरको उकुसमुकुसबाट बाहिरिन र स्वच्छ श्वास लिन पनि यस्ता खुला मैदान आवश्यक छ।’

पोखरामा बनेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने तयारीमा छ। हाल चालु विमानस्थलबाट करिब पाँच किलोमिटरको दुरीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। जनवरीदेखि सञ्चालनमा आउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरु भएपछि चालु विमानस्थल कुन रूपमा उपयोग गर्ने भन्नेबारे अझैसम्म स्पष्ट भइसकेको त छैन। तर, सो विमानस्थल अन्तर्राष्ट्रियमा गाभिएको र यहाँ कर्मचारी आवास तथा व्यापारिक कम्प्लेक्स बनाउने योजना सार्वजनिक भएपछि पोखरेली भने सशंकित भएका छन्। पोखरेलीले कुनै पनि हालतमा यो विमानस्थललाई खुला मैदानको रूपमा राखिरहनुपर्ने बताइरहेका छन्।

‘भूकम्पका बेला राहत र उद्धारमा विमानस्थलले दिएको योगदान कहिल्यै बिर्सन सकिन्न,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘पोखरेलीका हितका लागि सोच्ने हो भने विमानस्थल खुला पार्कका रूपमा राख्नुपर्छ। भूकम्पका बेला विमानस्थल नहुँदो हो त उद्धार र राहतमा ढिलाइ हुन सक्थ्यो।’ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि चालु विमानस्थललाई यथास्थितिमा राख्दा अत्यावश्यक काममा उपयोग हुने उनले बताए। ‘केही गरी अर्को विपद् आइहाले अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गरेर यो विमानस्थललाई उद्धार र राहतका काममा उपयोग गर्न सकिन्छ। भएभरका संरचनामा भवन बनाएर अर्थ राख्दैन,’ उनले भने।

आपद्विपद् आइपर्दा अहिलेको विमानस्थललाई उपयोग हुनेगरी प्रयोगयोग्य अवस्थामा राख्नुपर्ने उनले बताए। पोखरामा अहिले सबैतिर खुला मैदान छैन। बजार बाक्लिएको छ। सबैतिर अग्ला भवन बन्दा पोखरा साँघुरो बनिसकेको अवस्थामा विमानस्थल क्षेत्र खुला मैदानका रूपमा राख्नुपर्ने उनले बताए। ‘खुला मैदान र अत्यावश्यक काम पर्दा काम लाग्ने गरी विमानस्थल जोगाउनुपर्छ। पोखरेलीले शरण लिने ठाउँको रूपमा यो विमानस्थल उपयोग हुनुपर्छ,’ उनले भने।

उनको विचारमा विमानस्थलको भवन संरचनामा सेमिनार हल बनाउन सकिन्छ किनकि त्यहाँ पार्किङ क्षेत्र पनि पर्याप्त छ। त्यसबाहेक ट्याक्सी–वे र धावनमार्ग आपद्विपद्मा विमान अवतरण गराउन मिल्ने गरी तयारी हालतमा राख्नुपर्ने उनले बताए। घाँसे मैदानमा पार्क बनाउन सकिन्छ। ‘पोखराको यो विमानस्थलप्रति गलत नजर लगाउनु हुँदैन। महानगरले यसलाई पनि जोगाउन पहल गर्नुपर्छ,’ उनले भने, ‘यो विमानस्थलप्रति गलत दृष्टि लगाउनु भनेको पोखरेलीमाथिको घात हो। कुनै पनि बहानामा अरू काममा लगाउन पाइँदैन। त्यसका लागि आन्दोलन गर्न पनि तयार हुनुपर्छ।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्