Logo

महेन्द्रसिंह ठकुरीद्वारा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)–१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा, यस्ता छन् चुनावी एजेण्डा



काठमाडौं, १० भदौ । कबड्डी खेलाडी तथा ‘नेपाल खुला छ’ भन्ने अभियान चलाउने महेन्द्रसिंह ठकुरीले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ठकुरीले प्रतिनिधिसभा सदस्यमा आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफ्नो क्षेत्रको समग्र विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने,‘हामीले जिताएर पठाएका जनप्रतिनिधिहरुले बारम्बार जनतालाई उपेक्षा गरिरहे, त्यसको विरुद्ध मेरो उम्मेद्वारी हो ।’

सो क्षेत्रबाट जनताले छनौट गरेर पठाएका जनप्रतिनिधिहरुले उनीहरुको हितमा काम नगरेको उनको आरोप छ । जनप्रतिनिधिमात्रै नभई मन्त्रीहरुले पनि त्यहाँका जनताको सामान्य आवश्यकत्ता पनि पुरा नगरेको भन्दै उनले जनताका आवश्यकता र सपना पूरा गर्न आफु राजनीतिमा होमिएको स्पष्ट पारे ।

ठकुरीले बर्दघाट–सुस्तापश्चिमका जनताले सिंचाई र मलको दुःख र अभाव झुल्नुपरेको सुनाए । त्यस्तै, त्यहाँका जनताले लागुपदार्थ दुव्र्यसनीका विषयहरु, भूमिहिनका कुुरा, उखु किसानका पीडालगायतका दुःख भोग्दै आएको तर ती समस्याको समाधान नभएको उनको दुःखेसो थियो ।

अब देशको विकासको लागि स्वतन्त्र युवाहरुलाई जनताले मत दिनुपर्ने उनको भनाई थियो । उनले युवा उम्मेद्वारहरुलाई मिडियाले बारम्बार समय दिएर अन्तक्रिया गरेर आफ्नो कुरा राख्ने अवसर दिनुपर्नेमा पनि जोड दिए ।

उनले २०४६ पछिका सार्वजनिक पदमा बसेका व्यक्तिहरुको सम्पत्ति खोजेर सार्वजनिक गर्ने र गल्ती गरेको प्रमाणित भएमा तिनीहरुलाई कडा कारबाही गर्नुपर्ने बताए । उनले भने,‘आवश्यक परे संविधान संशोधन गरेर भएपनि कामकारबाही अघि बढाउनेछौं ।’

उनले आफुलाई एकपटक संसद्मा पुर्याउन मतदातालाई आग्रह गर्दै जकडिएको कानुनी जालो तोडेर कठोर कानुन बनाउने प्रतिवद्धता गरे । आफन्तको आधारमा नभई दक्षताको आधारमा मात्र नियुक्ति गर्नुपर्ने व्यवस्था लागु गर्नुपर्नेमा उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्