काठमाडौं, भदौ १२ । काठमाडौं महानरपालिकाले नक्सासार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काउन र केही स्थानमा खाली गर्न निर्देशन दिएलगत्तै अनियमित रूपमा भवन बनाउने र बेसमेन्टमा पसल राख्ने अधिकांशले फोन गरी रोदन गर्न थालेका छन् ।
घरधनीहरूले महानगरको शहरी विकास विभाग, मेयर उपमेयरको सचिवालय र भत्काउन अग्र भागमा खटिने प्रहरीलाई फोन गरी आफूहरू मापदण्डअनुसार अघि बढ्न तयार रहेको बताएका छन् ।
अधिकांशले महानगर प्रहरीलाई टेलिफोन गरी भन्ने गरेका छन्– हामीलाई समय दिनुस् खाली गर्दै छौं । अनियमित रूपमा भाडा उठाइरहेका केही घरधनीले भाडामा बस्नेले छाड्न नमानेका कारण समस्या आएको भन्दै कामपासँग दुःख बिसाएका छन् ।
गएको सोमबारदेखि मापदण्डविपरीतका ठूला कम्प्लेक्सको बेसमेन्ट र नक्साविपरीत बनाएका घर भत्काउन शुरू गरेपछि ती घरधनीले महानगर प्रहरीसँग हारगुहार गरेका छन् । कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले केही दिनदेखि लगातार फोन गरेर महानगरको मापदण्ड आफैंले कार्यान्वयन गर्ने बताउन थालेको जानकारी दिए। केही घरधनीले भाडामा बस्नेले भाडा नदिएका कारण बेसमेन्ट खाली गर्न समस्या परिरहेको भन्दै फोन गरेर गुहार गर्न थालेका छन् ।
केही ठूला घरानाहरूले महानगरमा कार्यरत निकटका कर्मचारी प्रयोग गरी आफैं भत्काउने सन्देश पठाउन थालेका छन् । मेयर साह आफैं डोजर लिएर फिल्डमा खटिएपछि आत्तिएका कतिपय घरधनी आफैंले बेसमेन्ट खाली गरी जुन प्रयोजनमा नक्सा पास गरेको हो, सोही प्रयोजनका लागि प्रयोग गरिरहेका छन् । कामपाको टोलीले मापदण्डविपरीत बनाएका संरचना भत्काउने कामलाई अभियानकै रूपमा निरन्तरता दिने जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट