काठमाडौं, १५ भदौ । सामाजिक अभियन्ता तारा बरालले हिन्दूहरुको महान चाड हरितालिका तीजको अवसरमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पशुपतिनाथ मन्दिरमा प्रवेश गराउँदा प्रहरीले व्रतालु महिलाहरुमाथि दमन गरेको भन्दै आपक्ति जनाएकी छिन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बरालले यसबारेमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसमक्ष स्पष्टीकरण माग्नेसमेत बताईन् । उनले भनिन्,‘जो हिन्दुराष्ट्र भनेर खाइनपाइ हिँडिरहेका छौं, हामीमाथि नै किन अत्याचार गरिन्छ ? पशुपतिमा हिन्दराष्ट्र बेचेर खानेहरुले नै तीजमा अड्डा जमाउने ?’
बरालले राष्ट्रपति भण्डारीमाथि पशुपति नाथसँग त्यत्रो मोह थियो भने किन हिन्दुराज्य बेचेको भन्दै प्रश्न गरिन् । बरालले भनिन्,‘पशुपतिनाथको महत्व लाग्दथ्यो भने किन हिन्दुराष्ट्रको बारेमा एक शब्द पनि ओकल्न राष्ट्रपतिलाई गाह्रो हुन्छ ?’
पशुपतिनाथ मन्दिरमा राष्ट्रपति भण्डारी दर्शन गर्न जाने भनेपछि महिलाहरुलाई साउनको सोमबार र तीजमा प्रहरीले थुनेर राख्ने गरेको पनि उनको आरोप थियो । उनले भनिन्,‘हिजो पशुपतिमा नाचिरहेको अवस्थामा पनि प्रहरीको भ्यानले हामी महिलाहरुको मोवाइल समातेर दिनभर थुनामा राख्यो ।’ उनले यसरी हिन्दु महिलाहरुलाई थुनाउनु पाप गर्न हो की, धर्म गर्न गएको त्यसको जवाफ दिन पनि राष्ट्रपतिसमक्ष आग्रह गरिन् ।
राष्ट्रपतिले दुई जिब्रे प्रवृति देखाएको उनको भनाइ थियो । भण्डारीलाई देशमा पशुपतिनाथको प्रभाव छ भन्ने र आस्था लाग्छ भने एकपटक नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्छ भनेर बोल्न पनि उनले आग्रह गरिन् ।
राष्ट्रपतिलगायत नेताहरुले धर्म बेचेको आरोप लगाउँदै उनले भनिन्,‘हिजो धर्म बेच्नेहरुले आज पशुपतिनाथ मन्दिर गएर धर्मप्रेमी हुँ भनेर जनतालाई झुक्याइरहेका छन्, हामीले सबै बुझेका छौं ।’ उनले अबपनि हिन्दुराष्ट्र कायम गर्नेबारे राष्ट्रपति भण्डारी नबोले ठाडो आतंक मच्चाउनेसमेत चेतावनी दिइन् ।
कार्यक्रममा यही विषयमा उत्तमप्रसाद सेढाईँ, बासुदेव डल्लाकोटी, केपी शर्मा, पवित्रा लामा, अनु काप्री, पुष्पराज पुरुष, पुष्ता तामांग, रामचन्द्र अधिकारी, रामचन्द्र तिवारी, थाजेन्द्र जमकट्टेल र उषाकिरणले आफ्नो धारणा राखेका थिए ।