काठमाडौं, भदौ १६ । मंगलबार दिउँसो देशभरका महिला हरितालिका तीजको रमझममा थिए । बाजुराका केही महिलालाई भने ज्यानको बाजी थापेर बल्देबाट चाउचाउ, तेल, चिनीलगायतका अत्यावश्यक सामान सदरमुकाम मार्तडीतर्फ ओसार्दै ठिक्क थियो ।
गाडीको सामान ओसार्ने र बालबालिका पाल्ने, पढाउने दैनिक दिनचर्या जस्तै बनेका श्रमिकले हिजोआज सदरमुकाम मार्तडीमा काम पाउँदैनन् । तीजभन्दा पनि दैनिक ज्यालामजदुरी गरी जहान परिवार कसरी पाल्ने भन्ने चिन्ताले उनीहरू मजदुरीमै व्यस्त देखिन्छन् ।
हिजोआज उनीहरूले काम पाउन दैनिकजसो सदरमुकाम मार्तडीबाट करिब १९ किलोमिटर तल बल्दे पुग्नुपर्छ । गत असारदेखि बल्दे–मार्तडी सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै उनीहरू पनि भारीको जोहो गर्न तल झरेका हुन् । बल्देको सडक सञ्जाल पनि पहिरोले चुँडेर लगेपछि भारी बोकी जीवन निर्वाह गर्ने ज्यामीलाई ज्यानको बाजी थापेर सदरमुकामसम्म सामान पु¥याउनुपर्छ ।
बल्देको मोटर बाटो गत असारदेखि पहिरोमा परेपछि यात्रु आवगमनमा सास्ती मात्र हैन कन्तबिजोक भएको छ । सडक अबरुद्ध भएको तीन महिना बितिसक्दा पनि यातायात चालु नहुँदा सदरमुकाम मार्तडीलगायत जिल्लाका अन्य व्यापारीले भरियाबाट सामान ढुवानी गर्दै आएका छन् ।
२०५२ सालमा शिलान्यास भएको साँफे–मार्तडी सडकको न त स्तर उन्नति भएको छ न वैकल्पिक मार्गको व्यवस्थापन गरिएको छ । बल्दे–मार्तडी सडक खण्ड पहिरोका कारण अवरुद्ध हुँदा प्रमुख जिल्ला अधिकारी गोपालचन्द्र अधिकारीको अध्यक्षतामा अमकोटका स्थानीय बासिन्दासहित सर्वदलीय बैठक बसेको थियो ।
उक्त बैठकमा स्थानीयले हामी थातथलो छाडेर पनि जग्गा उपलब्ध गराएका थिए । बूढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले हप्तामै वैकल्पिक बाटो खुुल्ने दाबी गरेपनि तीन महिना बित्न थाल्यो न बाटो खुलेको छ न लगाएको खेती रह्यो ।
‘मेयरको मुख मात्र खुल्यो बाटो अझै खुुलेन’ –अम्कोटका रामप्रसाद पाध्यायले भने । उसो त बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख बानियाले गत साउनमै एक हप्तामै अम्कोट हरडे खोलाको वैकल्पिक बाटो चालु हुने भनी विभिन्न सञ्चारमाध्यमसँग अन्तर्वार्ता पनि दिएका थिए ।