काठमाडौं, १७ भदौ । जनता समाजवादी पार्टी, नेपालले सिहरा–४ बाट पूर्व सभासद डा. वीरेन्द्र प्रसाद महतोलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि उम्मेद्धवारको रुपमा नाम सिफारिस गरेको छ । डा. महतो विकासप्रेमी नेता हुन् । महतो संविधानसभाको सदस्य थिए ।
हाल माछापुच्छ्रे बैंकका अध्यक्षसमेत रहेका महतो जिल्लामा लोकप्रिय मानिन्छन् । जिल्लामा उनले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलो योगदान पुर्याएका छन् । पार्टी नेतृत्वले पनि महतोलाई रुचाएको छ । पार्टीमा उनी केन्द्रीय आर्थिक विभागमा छन् ।
०७४ मा नै उनी चुनाव लड्ने तयारीमा थिए । तर, पार्टी नेतृत्वले आग्रह गरेपछि उनी पछि हटेका थिए । ०७४ मा उक्त क्षेत्रबाट तत्कालिन राजपाका राजकिशोर यादवले जितेका थिए । हाल उनी जसपामै रहेपनि उनको भूमिकालाई लिएर अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट छन् ।
पार्टीभित्रको आन्तरिक विवादको बेला उनले बाबुराम भट्टराईलाई साथ दिएको अध्यक्ष यादवलगायतका शीर्ष नेताहरुको ठम्याई छ । अहिले राजकिशोरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि चुनावलक्षित भेटवार्ता गरेको चर्चा चलेको छ ।