Logo

कुनै पनि बहानामा संसद् फर्केर जान्नँः राजेन्द्र लिङ्देन



काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको कार्यकाल बढाउने प्रस्ताव सरकारले फिर्ता लिए पनि आफू संसद् नजाने बताएका छन् । “निर्वाचनको मिति घोषणा भएपछि सरकार स्वतः कामचलाउ हुन्छ । संसद् स्वतः निष्क्रिय हुनुपर्थ्यो र निष्पक्ष चुनावी सरकार गठन गरेर जानुपर्थ्यो । तर संसदको आयु मंसिर ४ पछि पनि लम्बाउने गतिविधि गर्न खोजेपछि मैले तलब भत्ता खाएर बस्नु अनुचित हुन्छ भनेर राजीनामा दिएको हुँ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लिङ्देनले भने ।
उनले प्रतिनिधिसभाको कार्यकाल बढाउने प्रस्ताव फिर्ता गरेकामा सरकारलाई धन्यवाद समेत दिएका छन् । उनले भने, “मैले सस्तो प्रचारका लागि राजीनामा दिएको होइन । निर्वाचन घोषणा भएपछि संसदमा जान छाडिसकेको थिएँ । अब कुनै पनि बहानामा संसद् फर्केर जान्नँ ।”
अर्को प्रसंगमा लिङ्देनले चुनावी तालमेलका लागि नेकपा एमालेसँग कुराकानी भइरहेको बताए । उनले थपे, “राप्रपाले कुनै पार्टीसँग छुट्टै गठबन्धन गरेर जाने निर्णय गरिसकेको छैन । तर जिल्ला तहमा तालमेल खुलै राखेका छौं । एमालेसँग कुराकानी भइरहेको छ । ठ्याक्कै टुंगिएको अवस्था छैन । तर सम्भावना छ । कहीं न कहीं सहकार्य हुन सक्छ ।” एमालेसँग १२ सिटमा सहमति नभएको पनि उनले बताए ।
गणतन्त्रवादी र राजतन्त्रवादीबीच गठबन्धन गर्नु उचित हुन्छ र भन्ने पत्रकार धमलाको प्रश्नमा लिङ्देनले भने, “हाम्रा आआफ्नो घोषणापत्र र एजेन्डा हुन्छन् । यो गठबन्धन वा सैद्धान्तिक मिलाप होइन, चुनावी तालमेल मात्र हो । सबै एजेन्डाभन्दा माथि देश हो । एमालेसँग राष्ट्रियताका सन्दर्भमा मिलेर जाने अवस्था छ ।”



प्रतिक्रिया दिनुहोस्