Logo

रक्त क्यान्सरपीडितका लागि सङ्कलित रकम हस्तान्तरण



काठमाडौँ,२० भदौ । यहाँका रक्त क्यान्सरपीडित एक युवाका लागि सङ्कलन गरिएको रकम हस्तान्तरण गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१० पण्डित थोकका १८ वर्षीय युवक शिशिर पङ्गेनीको उपचारका लागि अभियान नै सञ्चालन गरी सङ्कलन भएको रकम बिरामीको परिवारलाई आइतबार उपलब्ध गराइएको हो ।

क्यान्सरपीडित पङ्गेनीको उपचारका लागि आर्थिक अवस्था कमजोर भएसँगै उनको जीवन रक्षाका लागि ‘शिशिर पङ्गेनी बचाऔँ अभियान’ नै सञ्चालन गरेर रु आठ लाख ७४ हजार आठ सय ५६ को चेक परिवारलाई हस्तान्तरण गरिएको स्थानीय एवं अभियानका सदस्य दीपक सुवेदीले बताए ।

“शिशिरलाई रक्त क्यान्सर भएको पुष्टि भएको केही समयपछि दुई महिनाअघि असार २० गतेदेखि हामीले अभियान सञ्चालन ग¥र्यौं”, उनले भने, “भर्खरको कलिलो युवामा जटिल समस्या भएको थाहा पाइसकेपछि केही सहयोग गर्नुपर्छ भन्ने मानवीय नाताले थालेको अभियानमा धेरै जोडिँदै तनमन र धन सहयोग गरे ।”

वालिङस्थित लक्ष्मी बैंकमा अभियानको नाममा खाता सञ्चालन गरी सङ्कलन भएको सबै रकम परिवारलाई हस्तान्तरण गरी खाता बन्द गरिएको उनले बताए ।

“अभियानअन्तर्गत विभिन्न व्यक्ति तथा सङ्घसंस्थामा पुगेर, सामाजिक सञ्जालको प्रयोग गरेर, फोन सम्पर्कका आधारमा जति रकम जुटायौँ सबै हस्तान्तरण ग¥यौँ”, उनले भने, “यस अभियानलाई सफल बनाउन र मुख्यतः शिशिरको जीवन रक्षाका लागि आआफ्नो ठाउँबाट सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौँ ।”

शिशिरको विगत तीन महिनादेखि काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । अब केही दिनमा बोनम्यारो ट्रान्सप्लान्ट गर्ने तयारी भइरहेको बुवा राम पङ्गेनीले बताए ।

“यसको औषधि निकै महँगो खालको हुने रहेछ, दिनमै एक डेढ लाख पनि खर्च हुन्छ”, उनले भने, “अहिलेसम्म उपचारमा रु तीस लाख बढी खर्च भइसकेको छ ।” उनले छोराको उपचारमा सहयोग गर्नका लागि विभिन्न व्यक्ति, समूह तथा संस्थाले अभियान नै सञ्चालन गरेर ठूलोमात्रामा रकम जुटाएर सहयोग गरेकामा सबैप्रति आभार व्यक्त गरेका छन्। रासस



प्रतिक्रिया दिनुहोस्