Logo

कांग्रेस लचिलो हुनेबित्तिकै सिट बाँडफाँट मिल्छः रकम चेमजोङ



काठमाडौं, २१ भदौ । जनता समाजवादी पार्टी (जसपा) का नेता रकम चेमजोङले सत्तारुढ गठबन्धनको कार्यदल निर्णयको नजिक नजिक पुगेको दाबी गरेका छन् । “कार्यदल अनिर्णयको बन्दी छैन । कार्यदलको काममा प्रगति छ । सिटको दाबी साँघुरिँदै गएको छ । दाबी सिटको संख्या घटाउने प्रयत्न भएको छ । कांग्रेस र अरु दलले पहिले जे दाबी गरेका थिए, त्यसमा घटेका छन् । १६५ भन्दा केही बढी देखियो भने शीर्ष नेताहरुले समाधान गर्नुहुन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै चेमजोङले भने ।
कार्यदलले क्षेत्रगत छलफल गरिरहेको पनि चेमजोङले बताए । उनले थपे, “त्यस्तो छलफल पहिले पनि भइरहेकै थियो । सिट मिलाउन समय लाग्छ, जटिल पनि छ । अडान छाड्दै छाड्दै गएर मिल्न त हो । कुनै पनि दलले हेपिएको ढंगले तालमेल हुन सक्दैन । ४० सिट मात्र पाउँछस् भन्यो भने कांग्रेसले मान्छ र ? जसपा पनि उचित संख्या भयो भने मात्र गठबन्धनमा सामेल हुने हो ।”
गठबन्धनका निम्ति कांग्रेस लचिलो हुने विश्वास पनि उनले व्यक्त गरे । चेमजोङले भने, “मलाई विश्वास छ, कांग्रेस लचिलो हुन्छ । ठूलो दलका हिसाबले ऊ अझ लचिलो हुनुपर्छ । अहिलेको अवस्थामा गठबन्धन सबैको बाध्यता हो । हामी टुंगो लगाउँछौं । दुईतीन दिनभित्र निकाल्नैपर्छ । मिल्नु भनेकै विवादको समाधान हुनु हो ।” धनकुटामा कांग्रेस र जसपा दुवैको दाबी भए पनि कुरा मिल्ने उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्