Logo

कार्यदलको बैठक बिहान ९ बजे, शीर्ष नेताहरुलाई दिउँसो १ बजे प्रतिवेदन बुझाउने



काठमाडौं, २३ भदौ । सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदल अझै पनि कुनै निर्णयमा पुगेको छैन । नेताहरुले एकदुई दिनभित्र निष्कर्षमा पुग्ने बताइरहे पनि त्यस्तो ठोस आधार बनेका छैनन् ।
“हिजो प्रतिवेदन बुझाउने कार्यक्रम थियो । निर्वाचन क्षेत्रगत रुपमा होमवर्क गर्दा भ्याइएन । आज बिहान ९ बजे फेरि कार्यदलको बैठक छ । त्यसमा छलफल गरी दिउँसो १ बजे शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउँछौं,” राष्ट्रिय जनमोर्चाका नेता एवं कार्यदलका सदस्य हिमलाल पुरीले नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग भने ।
कार्यदलले ९० सिटको टुंगो लगाएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता पुरीले थपे, “सबै दलको दाबी उपर छलफल चलेको छ, ठ्याक्कै सहमतिमा पुगेका छैनौं । अड्किने विषय छैन । कहाँ को लड्दा उपयुक्त हुन्छ, त्यही आधारमा छलफल चलिरहेको छ । अड्केको स्थिति पनि छैन । कुराकानी सकारात्मक छ ।” स्रोतका अनुसार ६० सिटमा नेपाली कांग्रेस, १२ सिटमा माओवादी केन्द्र, ८ सिटमा जसपा, ८ सिटमा नेकपा (एकीकृत समाजवादी) र २ सिटमा राष्ट्रिय जनमोर्चाको मात्र दाबी छ ।
नेता पुरीका अनुसार राष्ट्रिय जनमोर्चाले प्युठान र बागलुङ पाउने लगभग सहमति भएको छ । तर निर्णय भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्