काठमाडौं, २७ भदौ । नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आठौं संविधान दिवसका अवसरमा पार्टीले आगामी असोज १ गते उपत्यकामा हजारौंको सहभागितामा वाकथन (पदयात्रा) आयोजना गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम असोज १ गतेलाई तय गरेको हो ।
उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हजारौं मानिसहरूको सहभागितामा शुरू हुने वाकथनको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वसन्तपुरमा संक्षिप्त र महत्वपूर्ण सम्बोधन गरेपछि कार्यक्रम समापन गरिने एमालेले जनाएको छ ।
वाकथन कार्यक्रमलाई भव्य बनाउन आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा तयारी बैठक बसेको थियो । बैठकमा पार्टीका उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक सङ्घर्षपछि नेपाली जनताले संविधान सभाबाट संविधान पाएको विषयलाई त्यही उचाईंमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यसबर्ष वाकथन आयोजना गर्न लागिएको बताएका थिए । उनले संविधान दिवस राष्ट्रिय दिवस भएकाले यस दिवसमा राष्ट्र उठ्नुपर्ने धारणा राखे ।
संविधान दिवसका अवसरमा आयोजित यस कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम जनसमुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ । आजको तयारी बैठकमा पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा पार्टीका सबै विभागका प्रमुख तथा सचिवहरू, सबै जनसंगठनका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरू, सम्पर्क कमिटी र सम्पर्क मञ्चका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । २०७२ साल असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान–२०७२’ जारी भएको हो ।