जनकपुर, २७ भदौ । धनुषामा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू आफ्ना करिव दुईहजार कार्यकर्ता, समर्थकसहित नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) धनुषा जिल्ला कमिटीद्वारा आज तिरहुतिया गाछीमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरूमा जसपाका मधेस प्रदेससभा सदस्य अन्जु कुमारी यादव, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य अरबिन्द साह, नेपाली काँग्रेस धनुषाका युवा नेता सन्तोष यादव लगायत स्थानीय नेताकार्यकर्ताहरू रहेका छन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले जनताको साथ लिएर आफ्नै बलवुतामा प्रतिस्पर्धा गर्ने बताए ओलीले मंसिर ४ गते हुने निर्वाचनले देशको भाग्य र भविष्यको फैसला गर्ने भएकाले विचार पुर्याएर मतदान गर्न सबैमा आग्रह गरे ।
उनले लोकतन्त्रको रक्षा र देशमा विकासको अभियान चलाउनका लागि एमालेलाई जिताउन जनतासँग आग्रह गरेका हुन् । उनले नागरिकताको सवालमा अन्य दलहरूले एमालेविरुद्ध भ्रम छर्न खोजेको भन्दै एमाले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने पक्षमा रहेको बताए।
उनले नेपाली काँग्रेस र माओवादी केन्द्रले भ्रमको राजनीति गरिरहेको भन्दै एमाले त्यस्तो खेती नगरी जनतालाई सचेत र संगठित बनाएर अघि बढ्न चाहन्छ भन्ने उल्लेख गरे ।
नागरिकताको समस्या गम्भीर रहे पनि गठबन्धन सरकारले समस्या समाधानतर्फ ध्यान नदिई गलत मुद्दा उठान गरेको कारण सफल हुन नसकेको उनको आरोप थियो । उनले जनकपुरधाम एउटा पवित्र भूमि भएको र यहाँ चार हजार वर्ष अगाडि विभिन्न खालका शास्त्रार्थ र दर्शन बारेमा छलफल हुने गरेको भए पनि यहाँको अवस्था दयनीय भएको भन्दै यस्तो किन भएको भन्ने विषयको खोजी गर्न जनतालाई आग्रह गरे।
कार्यक्रममा नेकपा एमालेका सचिव एवम मधेश प्रदेशका ईन्चार्ज रघुवीर महासेठले विरोधीहरूले एमालेको विरुद्धमा भ्रम फैलाई राखेकाले त्यसलाई चिर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेका स्थायी कमिटीका सदस्य अग्नि खरेल, पोलिटब्युरो सदस्य जुली महतो लगायत नेताहरूले सम्बोधन गरेका थिए ।