एजेन्सी । स्पेनिस क्लब तथा साविक विजेता रियल म्याड्रिडले युईएफए च्याम्पियन्स लिगमा लगातार दोस्रो जीत निकालेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब लेइपजिगलाई २-० गोलले पराजीत गर्दै म्याड्रिडले उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।
इस्टेडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन फेडेरिको भाल्भेर्डे र मार्को एसेन्सियोले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको अन्तिम १० मिनेटमा दुई मिनेटमा दुई गोल गर्दै म्याड्रिड विजयी भएको हो । खेलको ८० औं मिनेटमा भिनिसियसको पासमा भाल्भेर्डेले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै इन्जुरी समयको पहिलो मिनेटमा टोनी क्रुसको पासमा एसेन्सियोले गोल गर्दै म्याड्रिडलाई २-० गोलको जीत दिलाए । जीतसँगै म्याड्रिड दुई खेलबाट ६ अंक जोड्दै समूह ‘एफ’को शीर्ष स्थानमा रहेको छ । दुवै खेलमा पराजीत लेइपजिग समूहको पुछारमा छ ।