Logo

जबरा सर्वोच्च छिर्न खोजेपछि सरकार, अदालत प्रशासनदेखि बारसम्म रोक्ने तयारीमा



काठमाडौं, २ असोज । आज सर्वोच्च अदालतमा इतिहासमै नभएको घटना घट्न सक्छ । निलम्बित भनिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजबाट नियमित काममा फर्कने भनी सर्वोच्च अदालत प्रशासनलाई पत्र पठाएसँगै उनी प्रवेश गर्न खोज्नेछन् ।

जबरालाई रोक्न सर्वोच्च प्रशासनले शनिबार नै बैठक बसी निर्णय लिइसकेको छ । सर्वोच्च मात्र नभई सरकार र बार पनि उनलाई रोक्न लाग्नेछ । यसको अर्थ उनी सर्वोच्चको मूलढोकाबाट पस्न नपाउने सम्भावना छ ।

प्रतिनिधि सभामा महाभियोग लगाइएपनि त्यसको टुंगो लागेको छैन । तर, प्रतिनिधि सभाको समयावधि सकिएको भन्दै जबराले महाभियोग पनि स्वतः अन्त भएको जिकिर गरेका छन् । उनी त्यसकारण महाभियोगबाट उन्मुक्ति पाइसकेको भन्दै सर्वोच्च छिर्न खोज्दैछन् ।

सत्तारुढ दलले जबरालाई महाभियोग लगाएकाले उनलाई रोक्न सरकार नै लाग्दैछ । सर्वोच्च अदालतको प्रशासन र बार एशोशिएसन पनि रोक्न लाग्नेछ । तर, उनको पक्षमा पनि कानून व्यवसायीहरुको एउटा समूह देखिने चर्चा छ । यसले सर्वोच्च अदालतमा घम्साघम्सी हुनसक्ने चर्चा छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्