काठमाडौं, २ असोज । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरेको छ ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेर उक्त विधेयकले नेपाली नागरिकहरु नै लोपोन्मुख अवस्थामा पुग्ने भन्दै संशोधनको माग गरेको हो ।
नेपालको दिर्घकालिन हित र राष्ट्रिय सुरक्षा सम्बन्धमा विज्ञहरु सम्मिलित नागरिकता आयोग गठन गरी सम्पुर्ण नागरिकता छानबिन सहितको प्रतिवेदनका आधारमा मात्र नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न परिषदले माग गरेको छ ।
मुलुकमा वैवाहित अंगिकृत र जन्मको आधारमा नागरिकता वितरण गर्नु र त्यसमा कुनै पनि सर्तसमेत नराखिनुमा जनसंख्याको राजनीतिक दुस्चक्रमा फस्ने परिषदले ठहर गरेको छ । बसोबास तथा जन्मको आधारमा समेत नागरिकता वितरण खुल्ला गर्दा रोहिङ्गा, भुटानी र तिब्बती शरणार्थीहरुबाट पनि जन्मिने सन्ततीले समेत सहजै नेपाली नागरिकता पाउने अवस्था हुने परिषदले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै इतिहासकार डा.प्रेमसिंह बस्न्यातले देशमा बाह्रबुँदे सम्झौता पछि राष्ट्र घात हुँदै आएको बताएका छन् । देशमा गरिबीको संख्या उल्लेख्य रहेको भन्दै मुलुकमा गरिब उन्मुलन हुन कम्युनिष्टको उन्मुलन हुनुपर्ने टिप्पणी गरे । उनले भने,“जहाँ कम्युनिष्ट रहन्छ, त्यहाँ गरिब नभइकन कम्युनिष्ट रहदैन कम्युनिष्टको नाममा १२ बुंदेपछि निरन्तर राष्ट्र घात हुँदै आएको छ ।” फरक प्रसंगमा बोल्दै डा.बस्न्यातले मुलुकमा भएका न्यायपालिका, कार्यपालिका र व्यवस्थापालिका भिन्न अंग भएको भन्दै त्यसमा कसैले केह ीगर्न नसक्ने धारणा राखे ।
यसैगरी, पूर्व जनरल चीनिया बहादुर बस्नेतले ३ करोड नेपालीहरुको देशमा सबैको समान अधिकार भएको धारणा राखेका छन् । ‘देश सबैको साझा सम्पत्ति हो’ भन्दै उनले २/४ जनाले देश डुबाएको आरोप लगाए । नेपालका सिमानामा ३ सय भन्दा बढी स्थानमा अतिक्रमण भएको बारे नेतृत्वले त्यसको विषयमा एक शब्द पनि नबोलेकोमा उनले आपक्ति जनाए । उनले भने,“लिपुलेक,लिपियाधुरा, कालापानी विदेशीले लिएपनि त्यसको बारेमा कोही बोल्दैनन् अब त देश नै बेच्न लागे ।” देश सम्हालेका नेतृत्वहरु पैसामा मरिहत्ते गरेको भन्दै उनले नेताहरुले विदेशीको गुलाम गर्न पनि तयार भएको बताए । नागरिकता विधेयकबारे बोल्दै उनले उक्त विधेयकले नेपालीलाई ध्वस्त बनाउन खोजेको टिप्पणी गरे । विधेयक फिर्ता गराउने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले खुट्टा नकमाउन आग्रह गरे । उक्त विधेयक तत्काल खारेज गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, पूर्व एआईजी रविराज थापाले राष्ट्रपति, प्रधानमन्त्री जोसुकैले पनि सबैभन्दा पहिला नेपाली हु भन्ने सम्झन पर्ने बताए । नेपाली नै नरहे केही पनि बाँकी नरहने उनको भनाइ थियो । संसदबाट दुईपटक पारित गरेर राष्ट्रपतिलाई प्रमाणीकरण गर्न पठाइएको नागरिकता विधेयक नेपालीको अस्तित्वको संकटसँग जोडिने उनले बताए । यसबाट पैसा हुने विदेशीले नेपालमै सम्पत्ति किनेर नेपाली माथि नै अधिकार जमाउने उनले टिप्पणी गरे ।
यसैगरी, डा.द्वारिकानाथ ढुंगेलले देश निर्वाचनमा गइरहेको अवस्थामा सरकारले नागरिकता विधेयक फिर्ता गर्नुपर्ने धारणा राखे । रातारात संसदबाट उक्त विधेयक पारित गरे नागरिकतामाथि खेलवाड गरेको उनले आरोप लगाए ।
सरकारलाई विधेयक फिर्ता गर्न आग्रह गर्दै आफुहरुले राष्ट्रपति भण्डारीसमक्ष देश हितमा नरहेको बारे ध्यानाकर्षण गराएको जानकारी दिए ।
उनले नेपालकै जसले नागरिकता पाउनुपर्ने व्यक्तिहरुले अझैपनि नागरिकता नपाएको दुखोसो पोखे । परिषदले जारी गरेको प्रेश विज्ञप्ती अध्यक्ष कोमल बहादुर राउतले वाचन गरेर सुनाएका थिए ।