काठमाडौँ,३ असोज । संविधान दिवसको अवसरमा आज मध्यपुरथिमि नगरपालिकामा प्रभातफेरी एवं अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मध्यपुरथिमि नपा–४ बालकुमारी मन्दिरबाट सुरु भएको प्रभातफेरी दथुटोल, निःगुपुखुः (दुई पोखरी) हात्तिमहाकाल, चपाचो, गुंगचिवाः, बहाखाबजार हुँदै मध्यपुरथिमि नगरपालिका अगाडि एक पार्टी प्यालेसमा पुगेर अन्तक्र्रियामा परिणत भएको थियो । नगरपालिकाका जनप्रतिनिधि, नगरका विभिन्न सामाजिक सङ्घसंस्था, सहकारी संस्था, खेलाडी, सर्वसाधारण नागरिक, विद्यालय, नगरपालिकाका कर्मचारी, प्रहरीको सहभागिता थियो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय तहले संविधानको मर्म र भावनाअनुरुप संविधानको कार्यान्वयन गर्दै जनताको घरआँगनमा सरकार भएको अनुभूति दिनसक्नुपर्ने बताए ।
उनले नगरपालिकाले संविधानले दिएको अधिकारअनुसार नगरवासीको हितमा काम गर्दै आएको बताउँदै नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको पहुँच वृद्धि गर्न नगरपालिका लागिरहेको बताए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले आमनागरिकलाई संविधानले दिएको अधिकार र यसको प्रयोगबारे सचेतना जगाउनुपर्ने आवश्यकता औँल्याउँदै हजारौँको बलिदानबाट प्राप्त संविधानको रक्षा गर्दै यसकोे अक्षरशः पालनामा लाग्नुपर्ने बताए । त्यसअवसरमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिलीपकुमार प्रजापतिले जनता सचेत भएर संविधानको रक्षाका लागि उभिनुपर्ने औँल्याए ।
कार्यक्रममा नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिका सभापति हरिदास प्रजापति, वरिष्ठ अधिवक्ता श्रीहरी अर्याललगायतले संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । रासस