Logo

केपी शर्मा ओली त्यति राम्रा विश्लेषक भए अहिले बालकोटमा थन्किएर बस्नु पर्दैनथ्योः जगन्नाथ खतिवडा



काठमाडौं, ४ असोज । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टीले चौथो स्थान सुरक्षित गर्ने बताएका छन् ।

“अहिले हामी जन्मने बित्तिकै चुनावमा होमिनुपरेको छ । जति सकिन्छ, त्यति गर्छौं । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) पछि हामी चौथो पार्टीको स्थान सुरक्षित गर्नेछौं । हाम्रो पार्टीले थ्रेसथोल्ड कटाउन सक्दन भन्ने केपी शर्मा त्यति राम्रा विश्लेषक भएको भए अहिले बालकोटमा थन्किएर बस्नुपर्दैनथ्यो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने ।
आफ्नो पार्टीले संविधानले तोके बमोजिमका सबै क्लस्टरअनुसार समानुपातिक सूची बुझाएको पनि उनले बताए । तपाईंको पार्टीमा त्यति धेरै मानिस छन् भन्ने पत्रकार धमलाको प्रश्नमा खतिवडाले भने, “तलबाट सिफारिस भएर आएका दुई हजार नाममध्येबाट संघमा ११० र प्रदेशमा २२० जनाको छनोट गरेका छौं । सबै क्लस्टरबाट योग्य र उपयुक्त साथीहरु समेटिनुभएको छ । नेतामात्र नभएर उत्तम कार्यकर्तालाई पनि राखेका छौं । अहिले नै को छुट्यो, को छ, भन्ने बेला छैन । समय आएपछि भन्छौं, समयमै भन्छौं ।”
खतिवडाले आफू प्रत्यक्षमा चुनाव लड्ने तयारीमा भएकाले समानुपातिकमा नरहेको पनि स्पष्ट पारे । उनले भने, “उदयपुर २ मा २०६४ मा नेकपा (माओवादी केन्द्र) सँग जोडिएको साथीले जित्नुभएको हो । आलोपालो गर्नुपर्छ भन्ने सल्लाह भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र सबैको समर्थनमा म उम्मेदवारी दिन्छु ।” पाँच दलीय गठबन्धनको सय सिटमा लगभग कुरा मिलिसकेको र ६५ सिटमा दोहोरोतेहेरो दाबी भए पनि मिलाउने उनले बताए ।
अर्को प्रसंगमा नेता खतिवडाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नजरबन्दमा नराखिएको तर उनका दुष्कर्म रोक्न खोजिएको दाबी गरे । उनले भने, “चोलेन्द्रशमशेरलाई नजरबन्दमा राखिएको होइन उहाँका दुष्कर्म रोक्ने प्रयास गरिएको हो । संसद्को विशेष समितिले आफ्नो अधिकार प्रयोग गरेर टुंगो नलगाइसकेको स्थितिमा तयो पदमा जानु अनुकूल छैन । उहाँ संसद्ले गरेको विपक्षमा मुद्दा लिएर जान सक्नुहुन्छ तर प्रधानन्यायाधीश पदमा हाजिर हुन जानु अनैतिक र गैरकानुनी हुन्छ । उहाँले भन्दैमा कानुनी शासनको हुर्मत लिएको मानिँदैन ।”



प्रतिक्रिया दिनुहोस्