काठमाडौं, असोज ९ । काठमाडौं महानगरपालिकाले राजधानी बासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसी बोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको परीक्षण गर्न लागेको हो ।
स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ्य चौपायाको सिङमा रातो रङ लगाइने कामपाका जनस्वास्थ्य महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले बताए ।
कामपाले सबै स्थलमा छुट्टाछुट्टै समूह बनाएर अनुगमन गर्ने भएको छ । कामपाका प्रवक्ता नवीन मानन्धरले विगत वर्षमा भन्दा यो वर्ष थप व्यवस्थित रुपमा परीक्षण र बजार अनुगमन हुने बताए ।