Logo

राप्रपाले तालमेलबिना पनि जित्न सक्छः राजेन्द्र लिङ्देन



काठमाडौं, ९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी संघका १६५ र प्रदेशका ३३० सिटमा उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको बताएका छन् ।
“गठबन्धन वा तालमेललाई हामीले उच्च प्राथमिकतामा राखेका छैनौं । कहीं कहीं जिल्ला तहमा समझदारी हुन सक्छन् । आवश्यकता अनुसार केही जिल्ला वा क्षेत्र मा सहमति गर्ने भनेका छौं । तालमेल भए पनि सीमित ठाउँमा मात्र हुन्छ । अहिले हामी संघका १६५ र प्रदेशका ३३० सिटमा उम्मेदवार टुंग्याउने अन्तिम चरणमा छौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिङ्देनले भने ।
राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले गठबन्धन वा भागबन्डालाई प्राथमिकतामा नराखेको पनि उनले औल्याए । उनले थपे, “हामी कसैको सहयोग बिना पनि लड्न सक्छौं । हामीले जनताको सहयोग लिने हो । तालमेल र गठबन्धन पनि जनतासँगै गर्ने हो । जनताले जुन स्थान दिन्छन्, त्यो राप्रपालाई स्वीकार्य छ ।”
उनले नेकपा एमालेसँगको छलफलले आकार ग्रहण गर्न नसकेको बताए । राप्रपाले कुनै व्यक्ति वा नेतालाई केन्द्रित गरेर भन्दा पनि दलगत सुविधाका आधारमा तालमेल गर्न इच्छुक रहेको पनि लिङ्देनको भनाइ छ । उनले भने, “हामीले केन्द्रबाट तालमेलको कुनै निर्णय गरेका छैनौं । जिल्ला स्तरमा तालमेल हुन्छ भने गरे पनि हुन्छ ।” उनले राष्ट्रियताका सन्दर्भमा एमालेसँग राप्रपाको कुरा मिलेको पनि उनको स्पष्टोक्ति छ ।

राप्रपाका सबैजसो शीर्ष नेताहरु त समानुपातिक सूचीमा बसे नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “हामीले अपेक्षा गरेभन्दा अलि फरक ढंगले अग्रज नेताको आकांक्षा आयो । तर हामीले अग्रजका साथै गाउँ-क्षेत्रमा काम गरेका, युवा उमेर समूहका, दुःख गरेका नयाँ-पुराना कार्यकर्ताको सन्तुलन मिलाएका छौं ।” राप्रपाको समानुपातिक बन्दसूचीमा पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ लगायतका शीर्ष नेताहरु छन् ।
आगामी निर्वाचनमा आफू झापा ३ बाट लड्ने पनि उनले स्पष्ट पारे । नेता लिङ्देनले भने, “राप्रपा देशभरिबाट हार्दाखेरि पनि मलाई झापा ३ ले नै जितायो । मेरा देवी देवता भगवान् भनेका क्षेत्र ३ का मतदाता हो । मलाई उहाँहरुको साथ र समर्थन छ । मलाई काठमाडौं, ललितपुरबाट पनि अनुरोध आएको छ । तर म म झापा ३ बाट लड्छु ।”



प्रतिक्रिया दिनुहोस्