Logo

यस पटकको निर्वाचनमा स्वतन्त्र उमेदवारलाई छान्न सर्लाहीका बुद्धिजीवीहरुको सुझाव



बखतियार अलि, सर्लाही, २२ असोज । सर्लाहीका बुद्धिजीवीहरुले यसपालिको चुनवामा आफ्नो सुझबुझको प्रयोग गर्दै स्वतन्त्र भएर स्वतन्त्र उमेदवारलाई निर्वाचित गर्न सुझाव दिएका छन् ।

देशमा बहुदलीय व्यवस्था आएपछि देशका भ्रष्ट र गद्दार पार्टीका नेताहरुले जनताको पिर मर्कालाई हेर्नुको साटो आफ्नो स्वार्थ,नातावाद,कृपावाद,जातीवाद र धन आर्जनमा व्यस्त रहेको र देशलाई लुट्ने काम मात्र गरेकोले आफ्नो विवेक प्रयोग गरेर मंसिर ४ गतेको चुनावमा असल व्यक्तिलाई छान्न उहाँहरुले जनतासँग आग्रह गरेका छन्।

उनीहरुले यस्तो आग्रह सर्लाहीका समाजसेवी हृदयनारायण चौधरीले शनिबार मलंगवामा आयोजना गरेको भ्रष्टाचारको विरुद्धमा सम्पूर्ण क्रान्ति नागरिक अभियान कार्यक्रममार्फत गरेका हुन। कुर्सी र पावरलाई मात्र सर्वोपरि ठान्ने यस्ता नेताहरुकै कारण आज विदेशी ऋणको चंगुलमा फसेको उनीहरुको भनाई थियो ।

राजनीतिक दलका नेताहरु चुनाव जितेर सत्तामा जानुभन्दा पुर्व जनताको हित र विकासको कुरा गरेपनि चुनाव जितेर सत्तामा गइसकेपछि मतदान गरेर जिताउने जनतालाई नै बिर्सिने गरेको उनीहरुको गुनासो थियो ।

चुनाव जितेको पाँच वर्षपछि ती नेताहरु पूनः चुनावको बेला गाउँ गाउँमा देखापर्ने गरेको पनि उनीहरुले टिप्पणी गरेका थिए । दलका नेताहरु देश र जनताको लागि नभई आफ्नो स्वार्थ पुर्तिको लागि मात्र चुनावमा भाग लिने गरेकोले अबको चुनावमा यस्ता तानाशाह तथा गद्दार नेताहरुलाई पाखा लगाउनुपर्ने उनीहरुको धारणा थियो ।

स्वतन्त्रता मानिसहरुको जन्मसिद्ध अधिकार रहेकोले स्वतन्त्र भएर असल उम्मेदवारलाई चयन गर्नुपर्ने पनि उनीहरुको जोड थियो ।



प्रतिक्रिया दिनुहोस्