काठमाडौं, ३१ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पनि आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन। आज (सोमबार) राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका छन् ।कार्की आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सुनसरी–४ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसारमा होमिएका छन् ।
उनले निर्वाचनपछि बन्ने सरकारको नेतृत्व देउवाले गर्ने र देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताए । उनले भने,‘निर्वाचनपछि हाम्रै सभापतिज्यूको नेतृत्वमा सरकार बन्छ, उहाँलाई प्रधानमन्त्री बनाउनको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुहुन्छ ।’
कार्कीले मंसिर ४ गतेको निर्वाचनमा आफ्नो दलले १२० सिट ल्याउने दाबी गरे । उनले भने,‘हाम्रो १२० सिट आउँछ । कांग्रेसले प्रत्यक्षमा ७० र समानुपातिकमा ५० सिट ल्याउँछ ।’ उनले अहिलेको पाँच दलीय गठबन्धन कायम रहने विश्वास दिलाए । उनले अहिलेको गठबन्धन तलमाथि नहुने पनि स्पष्ट पारे ।
उनले सभापति एवम् प्रधानमन्त्री देउवा कांग्रेसको मात्रै नभएर राष्ट्रको नेता भएको जिकिर गरे । उनले भने,‘अहिले सबैलाई हाम्रो सभापतिज्यूको साथ चाहिएको छ । देउवा त युवा पुस्ताकै नेता हो । उहाँसँग युवाजस्तै जोश र जाँगर छ ।’ उनले सभापति देउवाले कांग्रेसलाई फेरि शक्तिशाली बनाउने उद्घोष गरे ।