Logo

डेब्यु गरेकी जयरानीको राष्ट्रिय कीर्तिमानको ह्याट्रिक



पोखरा, कात्तिक ३ । बर्दिया मधुवन नगरपालिका २ सुन्दरपुरकी २१ वर्षीया जयरानी थारूले २०७३ सालमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाइन् । मध्यपश्चिमाञ्चल प्रदेशबाट आफूलाई राष्ट्रिय खेलमा डेब्यु गराएकी जयरानीको त्यो खेल अविस्मरणीय रह्यो ।

इट्टाको धूलो राखेर बनाइएको एथलेटिक्स ट्रयाकमा अन्य खेलाडी नयाँ जुत्ता लगाएर सहभागी हुँदा उनी भने खाली खुट्टा थिइन् । जुत्ता लगाउने बानी नपरेको उनी खाली खुट्टा नै दौडिइन् । व्यक्तिगत स्पर्धामा पदक प्राप्त गर्न नसके पनि उनले चार गुण १ सय मिटर रिलेमा रजत जितिन् । त्यतिबेलासम्म उनको खुट्टामा चोट लागेको थियो । कारण खाली खुट्टा थियो ।

विगतको दुःखले अहिले उनलाई सुख दिएको छ । सुख मात्रै होइन् अब उनी अन्तराष्ट्रिय जगतमै परिचित हुनेछिन् । कारण हो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता । आठौं राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गराएकी उनले कुनै पदक प्राप्त गर्न सकिनन् ।

प्रदेशबाट सहभागिता जनाउँदा आफ्नो क्षमतालाई प्रस्फुटन गर्न नसकेकी उनलाई २०७५ सालमा त्रिभुवन आर्मी क्लबले एउटा अवसर दियो । जुन अवसर उनको र उनका बुबाको सपना थियो । संयोग पनि कस्तो? बुबालाई छोरी आर्मी भएको हेर्ने चाहना, छोरीलाई खेलाडी बन्ने । उनको खेल कौशलकै कारण बुबा र आफ्नो सपना पूरा गर्न सक्षम रहिन् । आर्मीमा आबद्ध भएको चार वर्षमा टेक्दै गर्दा उनले आर्मीका साथै आफुलाई समेत अब्बल सावित गरिन् ।

गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले चार स्वर्ण हासिल गर्दै गर्दा राष्ट्रिय कीर्तिमानीको ह्याट्रिक गरिन् । उनले चार महिना अघि आफैंले बनाएको राष्ट्रिय कीर्तिमानी भंग गर्दै नयाँ कीर्तिमान कायम गरिन् ।

जयरानी एथलेटिक्सतर्फ हर्डल्स विधाकी खेलाडी हुन् । पोखरा उनलाई फलदायी रह्यो । उनले आफ्नो विधामा मात्रै होइन् कहिल्यै पनि चाख नदेखाएको लङ्जम्पमा समेत राष्ट्रिय कीर्तिमान बनाउन सफल रहिन् ।आफूले हडल्समा आफ्नो समय सुधार गरी कीर्तिमानी गर्ने लक्ष्य राखे पनि लङजम्पमा भने स्वर्णको समेत आशा गरेकी थिइनन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्