Logo

कृत्रिम फूलका मालाले ‘मखमली र सयपत्री’ ओझेलमा



सुर्खेत, ७ कात्तिक । ‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो । यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । शरद ऋतुको आगमनसँगै सहर बजार र गाउँघरतिर यो गीत धन्किन थाल्छ ।

यो गीत घन्किन सुरु भएसँगै हिन्दूहरुका चाडपर्व सुरु भएको सङ्केत पनि मिल्छ । दसैँ तिहारको समयमा बज्ने यो गीतले खेतीपाती भित्र्याउने चटारोसँगै नेपाली समाजलाई चाडपर्वले छपक्कै छोपेको आभास दिलाउँछ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली र सयपत्री फूल नै खोज्ने गर्दछन् ।

दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले मखमली फूलको मालालाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ । ‘दाई मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ । तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी मखमली फूलको माला लागाइदिन्छन् ।

सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई मखमली फूलको माला लगाइदिने गरिन्छ । पछिल्लो समय भने गाउँघरतिर मखमली फूल हराउँदै गएको छ । फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढेका छन् । “तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेजस्तो लाग्यो”, वीरेन्द्रनगर नगरपालिका–४ का खगेन्द्र खनालले भने, “गाउँघरमा यो फूल पाउनै मुस्किल छ ।”

मखमली फूल लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले अहिले यो फूल गाउँघरमा पाइनै छाडेको पनि बताउनुभयो । “मखमली फूल सुन्दै तिहारको झल्को आइहाल्छ, पहिला–पहिला त घर वरपर दुई÷चार वटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त फूलमा त्यति महत्व नदिदा गाउँघरमा यस्ता परम्परागत चलनचल्तीमा आएका पर्व विशेष महत्व राखेका मखमली लगायतका फूलको संरक्षण हुन नसक्दा लोप हुँदै गएको छ”, खनालले भने ।

दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीका लागि तिहारको अभिन्न अङ्ग बनिसकेको छ । वीरेन्द्रनगर नगरपालिका–५ का प्रकाश आचार्य तिहारमा मखमली फूलको महत्व नबुझेर लोप हुन लागेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा कसैले चासो नदेखाएको उनले बताए।

आचार्यले भने, “तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला पहिराउन नपाउँदा तिहार खल्लोजस्तो हुन्छ, पहिला त घर वरिपरि बारीका डिल, कान्ला जताततै मखमली फूलमात्रै हुन्थे, हिजोआज भेटिँदैनन् ।” अहिले बजारमा आएका सस्ता र कृत्रिम फूलका मालाले मखमली र सयपत्री फूल लोप हुँदै गएको पनि उनले बताए ।

सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा फूल्ने मखमली तिहारमा विशेष लोकप्रिय र महत्वपूर्ण मानिन्छ । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्दा पनि सुन्दर मानिन्छ । नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् ।



प्रतिक्रिया दिनुहोस्